ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

Image
maya metro

अछाम – अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ।

अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ। पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रमा १२ ताल र १८ वटा खण्ड छन्। तीमध्ये संरक्षणको अभावमा १० वटा सुकिसकेका छन्।

nisarga

यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र मानिएको उक्त तालको आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन–५ का अमर साउदले बताए। ‘साना ठुला गरी १२ ताल र १८ पाटन खण्ड छन्’, उनले भने, ‘यो क्षेत्र १२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ।

संरक्षण नहुँदा यहाँका ताल सुक्दै गएका छन्।’ यहाँका प्रमुख तालमा जिगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका वडाध्यक्ष केशरबहादुर शाहले बताए।

उनका अनुसार तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन्। ‘तालहरुको संरक्षण हुन नसक्दा ताल पुरिन थालेका छन्’, वडाध्यक्ष शाहले भने, ‘अहिले पर्यटन पूर्वाधार विकासका काम भइरहेकाले तालको पनि संरक्षणमा जोड दिएका छौँ।’

रासस