खस्कियो टेलिकमको आम्दानी

Image
maya metro

काठमाडौँ – सरकारी स्वामित्वको नेपाल टेलिकमको वित्तीय अवस्था खस्कँदो छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एकै वर्षमा कम्पनीको आम्दानी करिब तीन अर्ब रुपियाँले घटेको छ । विवरण अनुसार गत आवमा कम्पनीले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार कुल आम्दानी गरेको छ । त्यसअघि आव २०७९/८० मा भने कम्पनीले ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार कुल आम्दानी गरेको थियो । यस हिसाबले एक वर्षकै अवधिमा कम्पनीको कुल आम्दानीमा दुई अर्ब ८० करोड रुपियाँले कमी आएको छ ।

कम्पनीको सञ्चालन आय पनि घटेर ३४ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । त्यसअघि कम्पनीको यस्तो आय ३६ अर्ब २७ करोड रुपियाँ थियो । आम्दानी घटेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको मुनाफामा देखिएको छ । गत आवमा कम्पनीको खुद नाफा नै एक अर्ब ३० करोड रुपियाँले घटेको छ । विवरण अनुसार कम्पनीले गत आवमा छ अर्ब ६१ करोड ७७ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ जबकि त्यसअघि कम्पननीको खुद नाफा सात अर्ब ९२ करोड रुपियाँ थियो ।

nisarga

कर भुक्तानअघिको कम्पनीको मुनाफा भने ११ अर्ब ६७ करोड ९८ लाख रुपियाँ रहेको छ । त्यसअघि कम्पनीले यस्तो नाफा ११ अर्ब ८४ करोड २५ लाख रुपियाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपियाँ पुगेको छ ।

आम्दानी घट्नुमा कम्पनीले विभिन्न कारण देखाएको छ । खास गरी म्यासेन्जर, भाइबर, ह्वाट्स एपजस्ता ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा एक अर्ब ४३ करोड रुपियाँले कमी आएको कम्पनीले जनाएको छ । ओटिटीका कारण भ्वाइस र एसएमएस सेवाबापतको आयमा नकारात्मक प्रभाव परेको कम्पनीले उल्लेख गरेको छ ।

सरकारी कम्पनी भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको कम्पनीले जनाएको छ । सेवा सञ्चालनका लागि आवश्यक ब्यान्डविथ विगत वर्षभन्दा कम दरमा खरिद गरिएका कारण सेवा सञ्चालन खर्चमा कमी आएको कम्पनीले उल्लेख गरेको छ ।

जिएसमए सेवाको अनुमतिपत्रको तेस्रो नवीकरणबापत २० अर्ब रुपियाँ भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको कम्पनीले प्रस्ट पारेको छ । त्यस्तो भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपश्चात् केही बैङ्कमा रहेका मुद्दती निक्षेपलाई परिपक्व अवधिभन्दा अगाडि फुकुवा गरी भुक्तानी गरिएको तथा बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब एक अर्ब २९ करोड ७३ लाख रुपियाँले कमी भएको टेलिकमले जनाएको छ ।