काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
यो खेलमा पारजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित हासिल गर्ने टोलीले फाइनल पुग्ने एक मौका पाउनेछ।
लिग चरणबाट चितवन सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अंकका साथ तेस्रो स्थामा रहेर प्लेअफमा पुगेको हो।
यता कर्णालीले पनि सोही नतिजा निकालेको थियो। तर नेटरनरेटमा चितवन अगाडि रह्यो।
कर्णाली चिवनविरुद्धको जितलाई आज पनि कायम राख्ने लक्ष्यमा हुनेछ। चितवन भने समूह चरणमा ब्यहोरेको हारको बदला लिने दाउमा छ। समूह चरणको खेलमा कर्णाली ६ विकेटले विजयी भएको थियो।
कुशल मल्ल कप्तान रहेको चिवनका लागि रिजन ढकाल, सोहेल तन्वीर र रवि बोपारा प्रमुख खेलाडीका रूपमा रहनेछन्।
रिजनले १३ र सोहेलले १२ विकेट लिएका छन्। यसैगरी रविले दुई अर्धशतकसहित २३३ रन बनाएका छन्।
ब्याटिङ र बलिङमा राम्रो देखिएको चितवनको फिल्डिङ भने सोचे अनुसारको हुन सकिरहेको छैन। कर्णालीविरुद्धको खेलमा पनि यो चितवनका लागि चिन्ताको विषय बन्न सक्छ।
पहिल्लो खेलमा जनकपुर बोल्ट्स हराएको चितवन उच्च मनोबलका साथ मैदान उत्रिनेछ।
यता सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीका लागि विपिनप्रसाद शर्मा, विल बसिस्टो नन्दन यादव प्रमुख खेलाडीका रूपमा रहनेछन्।
विपिनले ९ र नन्दनले सात विकेट लिएका छन्। यसैगरी बसिस्टोले बल र ब्याट दुवैबाट योगदान दिइरहेका छन्। उनले एक अर्धशतकसहित १२८ रन बनाउनुका साथै आठ विकेट पनि लिएका छन्।
कर्णालीको ब्याटिङमा भने समस्या देखिएको छ। खास गरि ओपनिङमा। हालसम्म कर्णालीले एक पटक मात्रै ५० रनमाथिको ओपनिङ साझेदारी गरेको छ। त्यो पनि चितवनविरुद्ध नै थियो।
एलिमिनेरमा पनि कर्णालीका लागि यो टाउको दुखाइको विषय बन्न सक्छ। पहिल्लो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीको लगातार चार जितको यात्रामा पूर्णविराम लगाएको थियो। कर्णाली चितवनलाई पराजित गर्दै सोही लयमा फर्किने प्रयासमा हुनेछ।