अत्तरिया — ‘यिनरी मिहिनेतको कुरा छाड पन,तिनलाई धेकिबर हामलाई त काम अद्द मन लागन्छ रे ।’ (यिनिहरुको मिहिनेतको त कुरै छोड्नुस,यिनिहरुलाई देखेर हामीलाई त काम गर्न मन लाग्छ ।) मिहिनेत कत्तिको गर्नुपर्छ नि? भनेर शोभालाई सोद्धा छेउैमा रहेकी शोभाकी छिमेकी लक्ष्मी साउँद बोलिन् । शोभाले चार वर्षअघि दिउँसोभरि स्कुलमा पढाएर आएर रातीको १२ ÷ १ बजेसम्म बारीमा प्याजको बेर्ना निकालेको देखेकि लक्ष्मी उनको मिहिनेतसंग निकै प्रभावित छिन् । ‘दिनभरि स्कुल पढाएर आएर बारीमा काम गर्थिन,अनि राती खाना खाएर हामी पनि सहयोग गर्न आउँथ्यौ,उनले भनिन् अचेल स्कुल छोडेदेखि त यिनलाई पनि सजिलो भा छ ।’
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० की शोभा मल्लको ३ कठ्ठा तरकारी बारीमा अहिले प्याजको बेर्ना,खुर्सानी र सिम्ला मिरिच मात्रै छ । शोभाले तरकारी खेती गर्दै आएको जम्मा ११ कठ्ठामध्ये ८ कठ्ठामा तोरी र थोरै काउली रोपेकी छिन् । माघतिर तोरी निकालेर लहरे तरकारीहरु लौका,फर्सी आदी रोप्ने योजनामा उनी छिन् । चार वर्षअघि विद्यालयको जागीर छोडेर तरकारी खेती सुरुवात गर्न शोभालाई सजिलो पक्कै थिएन ।
किनकी कृषि गरेर के हुन्छर?भन्ने व्यक्तिहरुकोे समाजमा बाहुल्यता छ । कतिले त उनलाई स्कुलको जागीर छोडेर किन तरकारीतिर लागेको भनेर पनि सोेध्ने गर्थे, शोभा निजी विद्यालयमा गर्नुपर्दाको मिहिनेत र न्युन तलब सम्झीन्थीन् । ‘गरेर त हेरौँ भन्ने लाग्यो,जस्ले जे भनेपनि के फरक पथ्र्यो र उनले भनिन् अहिले त बेलैमा सहि बाटो समातेछु जस्तो लाग्छ ।’ शोभाका श्रिमान धन बहादुर मल्ल पनि विदेश बाट फर्किएर करिब एक वर्ष बेरोजगार नै बसे । त्यसपछि नै हो मल्ल दम्पतीले तरकारी खेतीको योजना बनाएको पनि । ‘के गर्ने,के नगर्ने घर खर्चै चलाउन मुस्किल हुन पुग्यो अनि जे सुकै होस अब व्यवसायीक तरकारी नै गर्नुपर्छ भनेर योजना बनायौँ अनि मैले पनि विद्यालयमा पढाउने जागीर छोडेर दुवैजना यतै लाग्यौ’,शोभाले आफ्नो बारी देखाउँदै भनिन् ।
सुरुको सिजनमा आफुहरुलाई कुनै ज्ञान पनि नभएकोले एक गह्रामा मात्रै तरकारी लगाएको उनले बताईन् । त्यसपछी अर्को खेतीमा उनीहरुले तीन कठ्ठामा खेती बिस्तार गरे । अहिले उनीहरुले आफ्नो खेतमा पानी जम्ने समस्या हुनाले तरकारीमा असर गर्ने भएकोले ८ कठ्ठा थप जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । तरकारी रोप्नका लागि शोभाले कहिँकतैबाट तालिम लिएकी छैनन्,न उनका श्रिमानले नै । तर पनि उनिहरुको बारी कुनै तालिमप्राप्त कृषकले गरेको भन्दा कम व्यवस्थीत देखिँदैन । ‘हामीले कहिँबाट तालिम लिएका,पाएका पनि छैनौ,गर्दै गयौँ,सुरुमा केहि बिग्रियो पनि अहिले त त्यस्तो हुँदैन आफुमा इच्छाशक्ति भयो भने सबैकुरा सिकिँदो रहेछ पढेर भन्दा परेर जानेकाहरु अझ बढी अनुभवि हुन्छन् भन्थे हो रहेछ,हामी पनि त्यस्तै हो’ उनले हाँस्दै भनिन् ।
अहिले शोभा आफुले मात्रै होईन उनका छिमेकीहरुले पनि ब्याड बनाउने,रोप्ने तरिकाहरु देखेरै सिकिसकेका छन् । छिमेकी साउँद उनीहरुको देखेर आफुहरुले पनि घर वरपरको सानो ठाउँमा पनि त्यसैगरि तरकारी रोप्ने गरेको बताउँछिन् । ‘तिनिहरुले गरेको देख्छौँँ,कहिले फुर्सद भए यिनिहरुकै बारीमा सहयोग पनि गरिदिन्छौँ उनले भनिन् त्यहिँबाट बिक्रि नभएका,सानातिना बेर्नाहरु ल्याएर रोप्दा पनि हामीलाई घरमा खान तरकारी हुन्छ अचेल त ।’ साउँद मल्ल दम्पतीको मिहिनेतले आफुलाई पनि प्रभावित बनाउने बताउँछिन् । ‘उहाँहरु सिजनको बेला रातीको १२÷१ बजेसम्म बारीमै लाइट लगाएर पनि काम गर्नुहुन्छ अनि हामीहरुलाई पनि ओहो मिहिनेत यसरी पो गर्नुपर्छ जस्तो लाग्छ,उनले भनिन् छिमेकी मिहिनेती भए आफु पनि मिहिनेती भइने रैछ नि ।’
शोभाकी अर्की छिमेकीको नाम पनि लक्ष्मी साउँद नै हो । उनी पनि शोभा दम्पतीकी सहयोगी नै हुन् । कहिलेकाँहि काम धेरै हुँदा उहाँहरु आएर त्यत्तिकै काम गरिदिनु हुन्छ,हामीलाई सजिलो हुन्छ,उनले भनिन् । छिमेकी सहयोगी हुँदा आफुहरुले ज्यालामा मान्छे लगाउनु नै नपरेको शोभा बताउँछिन् । तरकारी खेतीमा शोभाका श्रिमान धनबहादुरले पनि पूर्णरुपमा सहयोग गर्दै आएका छन् । व्यवसायीकरुपमा नै तरकारी खेती गरेको हुँदा दुवैजना यसैमा व्यस्त हुने गरेको धन बहादुरले बताए । विदेश बस्दा दुख गरे अनुसारको कमाइ नहुने भएकोले आफुले श्रीमतीकै योजनामा सहमति जनाएको उनले बताए । ‘साउदी र कतार गरि करिब ६ वर्ष विदेश बसे,प्रशस्त दुख गर्दा पनि तीस,चालिस हजारभन्दा बढी तलब थिएन,त्यो भन्दा त यतै धेरै सजिलो छ,आफ्नै घर,आफ्नै ठाउँ आफ्नो परिवारसंग बसेर त्यति आम्दानी भइरहेको छ’,उनले भने ।
काउली र खुसार्नीबाट करिब एक हजारको लगानिमा खेती सुरु गरेका उनीहरुले अहिले वार्षिक ४ लाखसम्म बचत गर्ने गरेका छन् । तरकारी खेतीबाटै घर खर्च चलाउनुका साथै घर बनाउँदाको ऋणको किस्ता तिर्ने गरेको उनले बताए । ‘करिब करिब शून्य लगानिमै सुरु गरेका हौँ भन्दापनि हुन्छ,तर अहिले यहि तरकारीले हामी तीन जनलाई पालिरहेको छ,यसैबाट घर बनाउँदाको ऋणको किस्ता तिर्ने गरेका छौँ’,उनले भने । बारीमा फलेको तरकारी बेच्न उनीहरुलाई कहिँ टाढा जानु पर्दैन । अधिकांश तरकारी बारीबाटै गाउँघरमै बिक्रि हुने गरेको छ । कहिले तरकारी व्यवसायीसंगको सम्पर्कमा अत्तरिया बजारतिर जाने अटोमा हालेर पठाइदिन्छन्,कहिले व्यवसायीहरु आफै बारीसम्मै पुगरे लिएर जान्छन् । लहरे तरकारीहरु फलेको बेलामा प्रायः व्यवसायीहरु बारीमै आएर लिएर जाने गरेको शोभाले बताईन् ।
खेती सुरु गर्दाको समयमा भने साइकलमै गाउँगाउँमा लगेर बिक्रि गरेको उनले बताईन् । ‘सुरुमा यहाँ तरकारी खेती छ भन्ने कसैलाई थाहा थिएन्,उनले भनिन् अनि हामी साइकलमा क्रेट बाँधेर गाउँगाउँमा लगेर बेचेर आउँथ्यौ,तर अचेल त खासै त्यसो गर्नु पर्दैन,कहिलेकाँहि त्यसरी तरकारी बच्यो भने बेच्न जान्छौँ ।’ आफुहरुले सुन्दा बारी र बजारमा तरकारीको मूल्य ठिक दोब्बर हुने गरेको उनीहरु बताउँछन् । ‘हामीले यहाँबाट एक सयमा बेचेउँ भने बजारमा लगेर पसलेले कम्तिमा दुई सयमा बेच्छ’,शोभाले भनिन् । त्यसैले पनि नजिकका गाउँबाट धेरैजसो उपभोत्ताहरु आफुहरुको बारीसम्मै आएर तरकारी लगेर जाने गरेको उनले बताईन् । ‘यहाँ आएपछि सस्तो पनि,ताजा पनि अनि बारीमै आएपछि त अलिकति बढी पनि भइ नै हाल्छ,उनले भनिन् त्यसैले यहाँ वरीपरीका प्राय सबै उपलब्ध भएका तरकारी लिन बारीमै आउने गरेका छन् ।’
तरकारीभन्दा पनि बढी नाफा बेर्ना उत्पादनमा हुने गरेको शोभा दम्पतिको अनुभव छ । अहिले उनीहरुले डेढ कठ्ठा जमिनमा प्याजको बेर्ना मात्रै उमारेका छन् । बेर्ना उत्पादनमा धेरै समय नलाग्ने र बजारीकरणको समस्या पनि नहुने भएकोले आफहुरुले सिजन अनुसारको तरकारीका बेर्ना उमार्ने गरेको शोभाले बताईन् । गत वर्ष माग अनुसार प्याजको बेर्ना नपुगेकोले यसपटक थप आधा कठ्ठामा पनि उमारेको उनले बताईन् । तरकारी खेती गर्न उनीहरुले गाउँबाटै गोठेमल खरिद गर्छन,केहि मात्रामा रासायनीक मल नै प्रयोग गर्छन् । खेतीका लागि अत्तरियामा रहेको जीवनज्योती महिला विकास बहुउदेश्यीय सहकारीले विभिन्न कुरामा सहयोग गरेको शोभाले बताईन् ।
‘जीवनज्योती सहकारीले काँटा,मोटर,जालीलगायतका वस्तुहरुमा सहयोग गरेको छ,उनले भनिन् उहाँहरुले संस्थामा केहि कार्यक्रम आएको बेलामा खबर गरिरहनुहुन्छ ।’ सरकारी निकायबाट भने कुनै पनि प्रकारको सहयोग आफुहरुले नपाएको उनले बताईन् । वडा,नगर र उद्योग कार्यालय गरि ठाउँठाउँमा कर बुझाउनुपर्छ भन्ने सुनेकाले उनीहरुले तरकारी खेती दर्ता भने गरेका छैनन् । च्याम्पा गाडी प्रयोग गरेरै ११ कठ्ठा जमिनमा तरकारी उमार्ने यी दम्पति अब यसै कार्यलाई निरन्तरता दिने बताउँछन् । ‘जागीर गर्नु,विदेशिनु भन्दा त यहि खेती ठिक छ हामीलाई शोभाले भनिन् आफ्नो घरमै बसेर सन्चो,बिसन्चो सबै हेरेर काम गर्दै आम्दानी गर्न पाइएको छ ।’