सुदूरपश्चिमका उद्यमी महिलाहरुसंग परामर्स

Image

अत्तरिया – महिला उद्यमी महासंघ नेपालले सुदूरपश्चिमका उद्यमी महिलाहरुसंग परामर्स गोष्टीको आयोजना गरेको छ । आइतबार कञ्चनपुरमा एक कार्यक्रमको आयोजना गरि सुदूरपश्चिमका आठ जिल्लाका उद्यमी महिलाहरुसंग परामर्स गरिएको हो । कार्यक्रमका सहभागीहरुले व्यवसाय सञ्चालन गर्दा आउने समस्या र समाधानका उपायबारे सुझाव दिएका छन् ।

उनीहरुले सामान उत्पादनपछि बजारीकरणको समस्या रहेको बताएका छन् । महिला उद्यमी संघ दार्चुलाकी अध्यक्ष आसा संग्रौलाले दार्चुलामा पाइने जडिबुटीले बजार नपाउँदा सस्तोमा बेच्नु परेको बताइन् । दार्चुलामै उत्पादन गरिने गलैँचा लगायतका सामान बजारमा उचित मूल्य नपाएको उनले गुनासो गरिन् । त्यस्तै कैलालीकी रमा कट्टेलले भारतका नाकाबाट सहजरुपमा सामान भित्रिदाँ स्थानीय उत्पादनले बजार नपाएको बताइन् ।

उनीहरुले महासंघले सरकारी निकायसंग समन्वय गरि बजारीकरणका लागि पहल गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै भिमदत्त नगरपालिकाकी उप प्रमुख निलम लेखककले महिला उद्यमीहरुलाई हरेक ढंगबाट सहयोग गर्न आफु तयार रहेको बताइन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कञ्चनपुरमा लाग्ने महोत्सवमा उद्यमी महिलाहरुलाई स्टलको निशुल्क व्यवस्था गर्न आफु तयार रहेको बताए ।

त्यस्तै महिला उद्यमी महासंघकी तृतिय उपाध्यक्ष बसन्ती प्रधानले स्थानीय तहहरुले महिलालाई उद्यमी बनाउने प्रयास गर्नुपर्ने बताईन् । “दर्ता प्रक्रिया सहज गराएर,करमा छुट दिएर, कसरी हुन्छ महिलालाई उद्यमी बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण हुन्छ ।”,उनले भनिन् । त्यस्तै युएन उमनकी सुदूरपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरीले महिला घरमै सिमित हुनुपर्छ भन्ने समाजको धारणा अझै पनि परिवर्तन हुन नसकेको बताइन् ।

उनले महिलाहरु हरेक क्षेत्रमा घरायसी जिम्मेवारीले नै थिचिएको बताउँदै उद्यम गर्न चाहने महिलाहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताइन् । त्यस्तै महासंघकी सुदूरपश्चिम प्रदेश अध्यक्ष मिना फुलाराले महिला हिंसाको मुख्य कारण आर्थिक अभाव भएकाले महिलाहरु आर्थिकरुपमा बलियो हुनुपर्ने बताइन् ।

उनले महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको बताइन् । युएन उमनले सहयोगमा महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिमका आठ जिल्लाका उद्यमी महिलालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।