बैतडीमा एक महिलामाथि बलात्कार, ६ महिनापछि बाहिरियो घटना

Image

बैतडी – बैतडीमा एक महिलामाथि बलात्कार गरिएको घटना ६ महिनापछि बाहिर आएको छ।

जिल्लाको सिगास गाउँपालिकाकी २४ वर्षीया एक महिलामाथि देवर नाता पर्ने अन्दाजी २६ वर्षीय युवकले बलात्कार गरेको घटना बाहिर आएको हो।

ती महिलामाथि गएको असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो। पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ।

पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ। पीडित महिलाका श्रीमान समेत रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले बताए।