एमालेको खबरदारीपछि खुटिया अनुगमनमा उपप्रमुख,मापदण्ड बमोजिम उत्खनन् भइरहेको दावी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख एवम् अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाले आज खुटिया र खैराना नदीको अनुगमन गरेकी छिन् ।

उपप्रमुख रोकायाले प्रमुख प्रशासकिय हरिदत्त भट्ट,इन्जिनियर पूर्ण कुँवरलगायतको टोलीसहित खुटिया र खैराना नदीको अनुगमन गरेकी हुन् ।

बुधबार मात्रै नेकपा एमाले गोदावरी नगर कमिटिले खुटिया नदीमा अनुगमन गर्दै मापदण्ड विपरीत नदीजन्य पर्दाथ उत्खनन् भइरहेको भन्दै नगर प्रमुख र उपप्रमुखलाई खबरदारी गरेको थियो ।

उनीहरुले वातावरणीय प्रभाव मुंल्याकन (इआइए) गरिएको ठाँउभन्दा वरैबाट उत्खनन् भइरहेको र अनुमति लिएभन्दा बढी गहिराईसम्म उत्खनन् भइरहेको भन्दै मापदण्ड विपरीत उत्खनन् नगर्न गोदावरी नगरपालिका र ठेकेदारलाई खबरदारी गरेका थिए ।

तर आज अनुगमनमा गएको टोलीले भने मापदण्ड विपरीत उत्खनन् नभएको निचोड निकालेको छ ।

उपप्रमुख एवम् अनुगमन समितिकी संयोजक रोकायाले मापदण्ड विपरीत उत्खनन् नभएको बताइन् । उनले आफुले नियमित अनुगमन गरिरहेको भन्दै उनले मापदण्ड बमोजि उत्खनन् भइरहेको दावी गरिन् ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत भट्टले मापदण्ड बमोजिम उत्खनन् भइरहेको बताए । उनले सञ्चारमाध्यममा आएजस्तो सत्यता नभएको बताए ।

त्यस्तै कार्यपालिका सदस्य चन्द्रा भुलले नेकपा एमालेले जनुमुदायको तर्फबाट आवाज उठाउनु जायज भएको भन्दै अनुमति बमोजिम उत्खनन् भइरहेको बताईन् ।