
‘मातृभूमि जागरण अभियान’ का संयोजक भीम रावललाई अछाममा बाजागाजासहित भव्य स्वागत गरिएको छ। नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका रावललाई गृह जिल्ला अछाममा पहिलोपटक पुगेका अवसरमा समर्थकहरूले राष्ट्रिय झन्डा र बाजागाजासहित सम्मानपूर्वक स्वागत गरेका हुन्।
पुस ११ गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गरेको थियो। पार्टीबाट कारबाहीमा परेपछि रावलले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘मातृभूमि जागरण अभियान’ सुरू गर्ने घोषणा गरेका थिए। सोही अभियानअन्तर्गत गृह जिल्ला पुगेका उनलाई साँफेबगरमा समर्थकहरूले राष्ट्रिय झन्डा बोकेर भव्य स्वागत गरे।

रावललाई अछामकै रामारोशन गाउँपालिकाको मुजा बजारमा पनि उत्साहपूर्ण स्वागत गरियो। समर्थकहरूको उत्साहजनक सहभागिताले रावलको अभियानप्रतिको स्थानीय समर्थन प्रस्ट्याएको छ।















