अत्तरिया – कैलालीको गादावरी नगरपालीका वडा नम्बर ८ स्थीत जमुनानगरमा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवस मनाएको छ ।
सोमबार (आज) विविध कार्यक्रमको आयोजना गर्दै संस्थाले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै २० जना विपन्न तथा जेहेन्दार बालबालीकालाई शैक्षीक सामग्री वितरण गरेको छ ।

संस्थाका अध्यक्ष सुरत बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको उक्त स्थापना दिवसमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै जोशीले एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले जनभावना अनुसार काम गर्दै आएको बताए ।
सदस्य र प्रविधिमैत्री सहकारीकोरुपमा आफुलाई यस सहकारीले प्रस्तुत गरेको भन्दै उनले सुदूरपश्चिमकोमात्रै नभएर यो सहकारी देशकै उत्कृष्ट सहकारी भएको बताए ।
त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि रहेकी नेपाल बचत तथा ऋण केन्द्र सहकारी संघकी सञ्चालक दिप्ती शाहीले सहकारीले सामाजिक दायित्व पनि पूरा गर्दै आएको बताईन् । शेयर सदस्यको क्षमता वृद्धी गर्दै संस्थाले समाजप्रति सर्मपित भएर काम गर्दै आएको उनले बताईन् ।
१५ वर्ष अघि ४१ जना शेयर सदस्यबाट सुरु भएको उत्त सहकारीसंग अहिले करिब ३ हजार ६ सय जना शेयर सदस्य रहेका छन् भने एक करोड २५ लाख ४९ हजार शेयर पुँजी रहेको छ ।
एकता प्रगतिशील मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीले गरेको मुल्यांकनमा एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था विगतमा दुई पटक सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट घोषीत भएको थियो ।
संस्थाको प्राङ्गणमा आज आयोजित स्थापना दिवस समारोहका शेयर सदस्यलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्थापना दिवस समारोहमा संस्थाकी उपाध्यक्ष धना पाठकले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिईन् भने व्यवस्थापक शेर बहादुर बोगटीले कार्यक्रम सञ्चालन गरेका थिए ।