
अत्तरिया – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज दावी विरोधको कार्यतालिका रहेकोमा कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सिर्जना भएको विवाद आज पनि समाधान हुन सकेन ।
समानुपातिक उमेदवारहरुमाथि परको दावी विरोधबारे छलफल गर्न सर्वपक्षीय वैठक बसेको भएपनि विवाद समाधान हुन नसकेको हो ।

दल दर्ता गर्दा ९ वटा दल दर्ता भएकोमा नोमिनेसनमा समानुपातिक तर्फ पनि गठबन्धन गरिएको र प्रत्यक्षतर्फ दर्ता नै नभएको संगठन अखिल संयुक्तबाट नोमिनेसन गरिएपछि विवाद सिर्जना भएको हो ।
अनेरास्ववियु,अखिल क्रान्तिकारी लगायतले गठबन्धन गरेकोमा समानुपातिकतर्फ गठबन्धन गर्न नमिल्ने नेविसंघको भनाई छ । आज ११ बजेदेखि १ बजेसम्म दावी विरोधको समय तोकिएकोमा नेविसंघका एलआर ओझाले विरोधसहितको पत्र दर्ता गरेका हुन् ।
संयुक्त अखिल दर्ता नै नभएकोले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको उमेदवारी खारेजी गर्नुपर्ने उनले माग राखेका छन् । उक्त पत्रमाथि सर्वपक्षिय वैठकले छलफल गरेको भएपनि विना निष्कर्ष टुंगिएको छ ।
भोलि फेरि वैठक बस्ने जनाइएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत २७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार भोलि उमेदवारको अन्तिम नामावली प्रकाशनको मिति तोकिएको छ ।
















