
बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका- २ देहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राती पौने ९ बजेको समयमा दशरथचन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
जिप दुर्घटनामा परी पंञ्चेश्वर –६ घर भएका जीप चालक ३५ वर्षीय राकेस कोली,सोही ठाउका ५२ वर्षीय लालीराम कोली,पंञ्चेश्वर गाउँपालिका वडा ५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० कि अन्दाजि ३० वर्षीया कबिता परियार घाइते भएको पाण्डेयले जानकारी दिए ।

घाइते मध्ये चन्चले दयालको अवस्था गम्भीर रहेको र अन्यको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट करिब ४० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्नसकेको छैन । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



















