
अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ ।
स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।
तोकिएको मितिमा मतदान गर्ने व्यवस्था गर्न नसके १५ दिनभित्र क्याम्पस प्रमुख र निर्वाचन समितिले स्ववियु निर्वाचन गराउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।
यसैबिच कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा दुई संगठनबिच प्रतिष्पर्धा हुँदैछ । नेविसघं र संयुक्त अखिलबिच प्रतिष्पर्धा हुन लागको हो । नेविसंघबाट भुवन महरा र संयुक्त अखिलबाट बम बहादुर विक अध्यक्षका उमेदवार रहेका छन् ।














