
अत्तरिया – पुर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका स्थित स्याउलेदेखि अत्तरिया सम्म सडकको केहि भाग उधिनेर अलपत्र पारिएको छ । गोदावरीको अत्तरियादेखि स्याउलेसम्म तीन ठाउँमा वैशाख अन्तिममा कालोपत्रे उप्काइएको थियो । मुख्य राजमार्ग अन्तरगत अत्तरियादेखि पहलमानपुरसम्म पूर्णरुपमा क्षति भएको ठाउँमा पुनःह कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाएको थियो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईका अनुसार असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जोशी श्रीपुर जेभीले गत मंसिरमा ठेक्का पाएको थियो । अत्तरियादेखि पहलमानपुरसम्म विभिन्न खण्डमा गरि दुई हजार तीन सय मिटर कालोपत्रे गर्न मूल्य अभिवृद्धी करसहित २ करोड ८४ लाखमा ठेक्का भएको थियो ।

दिनहुँ सयौँ सवारीसाधन ओहोरदोहोर हुने यो मुख्य राजमार्ग उधिनेर अलपत्र छोड्दा धुलाम्मे हुने गरेको छ । धुलोले सडक नजिकको घरमा बस्नै नसकिने अवस्था रहेको गोदावरी ६ लालपुरका खगेन्द्र पनेरुले बताए । “धुलोले बेहाल बनाएको छ, के गर्ने कस्लाई भन्ने पानीमात्रै हालिदिएको भएपनि ठुलो राहत हुन्थ्यो ।” उनले भने ।
धेरै ठाउँमा खनेर अलपत्र नछोड्न दिनहुँ ठेकेदारलाई झक्झक्याइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चौलागाईले बताए । “भोलिपल्टै कालोपत्रे गरिहाल्छु भनेर सबै संगै खनेको हो तर यत्रो दिन भइसक्यो, स्थानीयबासीले हामीसंग गुनासो गरिरहनु भएको छ, उनले छिटो गर्नुपर्यो भनेर हामीले झक्झक्याइरहेका छौँ ।”
जति कालोपत्रे गर्न सकिन्छ त्यतिमात्रै खन्न ठेकेदारलाई आग्रह गरिएको उनले बताए । जोशी श्रीपुर जेभीका प्रतिनिधि डम्मर चन्दले भने आफ्नो ठेक्का अवधी असार मसान्तसम्म भएकोले समयमै सकिने गरि काम गर्ने बताएका छन् । “समस्याहरु धेरै छन्, सबैकुरा भनेर साध्य हुँदैन, उनले भने मेरो ठेक्का अवधी असार मसान्तसम्म हो । म आफ्नो ठेक्का अवधीसम्म काम सम्पन्न गर्छु ।”















