लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

Image
maya metro

अत्तरिया – नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा उनले आमनागरिकलाई सु–सूचित गर्ने काममा पत्रकारको भूमिका महत्वपूर्ण भएकाले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन जरुरी रहेको उल्लेख गरिन्।

पछिल्लो पटक पत्रकारिता पेसामा विभिन्न चुनौती देखापरेको उल्लेख गर्दै उनले पत्रकार स्वयंले आफ्नो सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखिन्। उनले प्रदेशस्तरमा गठन भएको फ्रि मिडिया नेटवर्कले आमनागरिकको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता प्रदान गर्न मद्दत मिल्ने बताइन्।

nisarga

उनले नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागिता रहने भएकाले पत्रकारलाई सुरक्षासँगै सूचनाको पहुँच बढाउन सहयोग पुग्ने भनाइ व्यक्त गरिन्। आमनागरिक समाजको पत्रकारिताप्रति रहँदै आएको विश्वासलाई जोगाउन पत्रकारले विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

अध्यक्ष शर्माले देशभरका सामसञ्चार माध्ययमले विभिन्न संकट झेल्दै आएको उल्लेख गर्दै सञ्चारमाध्यमले झेल्दै आएको आर्थिक संकटका कारण पत्रकार पलायन हुने अवस्था रहेको स्मरण गरिन्।

यसैबीच आजै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा १७ सदस्यीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । उक्त नेटवर्कमा नागरिक समाज, सरकारी निकाय र पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरु छन् ।