सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले सो बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री थापाले प्रस्तुत गरेको बजेटमा चालु खर्चका लागि १० अर्ब २० करोड ८१ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३०.४९ प्रतिशत हो। त्यसैगरी, पूँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसको हिस्सा कुल बजेटको ५९.२५ प्रतिशत रहेको छ।

nisarga

त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको १०.२४ प्रतिशत हो। वित्तीय व्यवस्थापनका लागि भने १ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री थापाले जानकारी दिए।

बजेट प्रस्तुत गर्दै मन्त्री थापाले प्रदेशको समावेशी, समानुपातिक तथा दिगो विकासलाई प्राथमिकता दिइएको उल्लेख गरे। उनले कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र रोजगारी सिर्जनामा बजेट केन्द्रित गरिएको बताए।

थापाले बजेट प्रदेशको समृद्धिको यात्रातर्फ लम्किन आवश्यक रणनीतिक योजना अनुरूप तयार पारिएको दाबी गर्दै त्यसको कार्यान्वयनमा सबै निकायको सहयोग आवश्यक रहेको उल्लेख गरे।

बजेटमा संघीय सरकारले सञ्चालन गर्ने राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरू सँगै समन्वय गरेर कार्यान्वयन गरिने उल्लेख छ। साथै, स्थानीय तहसँगको साझेदारीमा जनता नजिकका सेवा र पूर्वाधार विकासमा प्राथमिकता दिइने जनाएको छ।

यस आर्थिक वर्षको बजेट सन्तुलित र कार्यान्वयनमुखी हुने भन्दै मन्त्री थापाले विकास निर्माणका काममा प्रभावकारिता, पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे।

साथै, उनले सार्वजनिक वित्त व्यवस्थापन सुधार, राजस्व वृद्धि, आन्तरिक स्रोत परिचालन, भ्रष्टाचार नियन्त्रण र परिणाममुखी योजना कार्यान्वयनमा सरकारले ध्यान दिने बताए। अबको केही दिनमा बजेटमाथि छलफल र संशोधनको प्रक्रिया अघि बढ्नेछ।