अत्तरियाको लामीतालमा पुल निर्माण, पर्यटकिय क्षेत्रका रुपमा विकास गरिँदै

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको पर्यटकिय क्षेत्र लामीतालमा पुल निर्माण गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश अन्तरगतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीले उत्त पुल निर्माण गरेको हो ।

पुल निर्माण र ताल सरसफाईका लागि इकाईले गत वैशाख ८ गते टप कन्सट्रक्सनसंग मूल्य अभिवृद्धी करबाहेक १६ लाख ९८ हजार रुपिँयामा सम्झौता गरेको थियो । तालको बिच भागमा रहेको टापुमा आवतजावत गर्न मिल्ने गरि पुल निर्माण गरिएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका इन्जिनियर महानन्द पन्तले बताए ।

nisarga

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टका अनुसार लामीताललाई पर्यटकिय क्षेत्रकारुपमा विकास गर्न गोदावरी नगरपालिकाले डिपीआर तयार गरेको छ । सोहि बमोजिम प्रदेशसंग बजेट माग गरिएको हो । तालको बिच भागमा रहेको उक्त टापुमा मन्दिर निर्माण पनि गरिनेछ भने तालको छेउमा पिकनिक स्पोट निमार्ण गरिनेछ ।

तालमा साढे १२ करोडको लगानीमा पर्यटकिय स्वरुप दिने लक्ष्यले सम्भावित मस्यौदा निर्माण गरिएको भट्टले बताए । ताल वरीपरि सडक, लाइट, कफी स्टल,शौचालय लगायतका योजनाहरु डिपीआरमा समावेश गरिएको र तालमा इ बोटिङ पनि सञ्चालन गरिने उनले बताए ।

करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आकर्षक बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना रहेको भट्टको भनाई छ ।

गोदावरी नगरपालिका वडा नम्बर- २ मा पर्ने लामीताल अत्तरिया चोकबाट उत्तर पूर्वतर्फ करिब २ सय मिटरको दूरीमा अवस्थित छ । अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गर्ने प्रादेशिक महोत्सवको समयमा यो तालमा डुङ्गा सयरको व्यवस्था हुँदै आएको छ ।

लामीताल लगायतका क्षेत्र नेपाली सेनाले आफ्नो भएको दावी गर्दै आएको छ । तर ६१ परिवार, बसपार्क, बुद्ध गुम्बा, रेडक्रस भवन र लामीतालमा दावी नगर्ने तथा सो बमोजिमको जमिन उपयुक्त ठाउँमा नगरपालिकाले उपलब्ध गराउने अनौपचारिक सहमति भएको भट्टले बताएका छन् ।