
अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतीले पारित भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विद्येयक सर्वसम्मतीले पारित गरिएको हो ।
यसअघि दुई दिनसम्म चलेको बजेटमाथीको छलफलमा प्रतिपक्ष र सत्ता पक्षका अधिकांश प्रदेश सभा सदस्यले बजेटमाथि असन्तुष्टि जनाएका थिए । उनीहरुले बजेटमा बिचौलिया हावी भएको आरोप लगाएका थिए ।

सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले बजेट माथीको छलफलमा भाग लिएका थिए । बजेटको छलफलमा भाग लिएका अधिकाश प्रदेश सभा सदस्यले विचौलियामार्फत योजना खरिद(बिक्री गरेको आरोप लगाउँदै छानविन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।
तर बुधबार छलफल सकिएपछि बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विद्येयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । थापाले पेश गरेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निणायर्थ प्रदेश सभा बठकमा पेश गरेका थिए ।
ध्वनी मत विभाजन गर्दै विधेयक निणायर्थ पेश गरेका सभामुख भण्डारीले राजश्व व्ययको अनुमान बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित भएको घोषणा गरेका छन् ।
प्रस्तावको विपक्षमा आवाज नसुनिएको बताउँदै उनले विधेयक सर्वसम्मतीले पारित भएको बताएका छन् । १ असारमा आर्थिक मामिला मन्त्री थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए ।















