शैल्यशिखर पूजन जात्रा सुरु

Image
maya metro

दार्चुला – शैल्यशिखर पूजन जात्रा सुरु भएको छ । जात्राको दर्शन र पूजाआजा गर्न बाहिरी जिल्लाका भक्तजनहरू यहाँ आउने क्रम बढेको मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिका–३ र शैल्यशिखर नगरपालिका–६ को सीमा क्षेत्रमा पर्ने शैल्यशिखरधाममा हरेक वर्ष असार शुक्लचतुर्दशी तिथि र कात्र्तिक शुक्लत्रयोदशी तिथीमा पूजन जात्रा लाग्ने गर्दछ । यस वर्षको असार शुक्लचतुर्दशी तिथि बुधबार (भोली) परेको तथा जात्राको सबै तयारी पूरा भएको उनले बताए ।

nisarga

शुद्ध (चोखो) भोको र पवित्र मनले शैल्यशिखर बाबाको दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान प्राप्त हुने जनविश्वास समेत छ ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिने शैल्यशिखरधामको दर्शन गर्न विवाहित महिला, व्रतबन्ध गरेका पुरुषले पन्ध्र दिन अघि देखि नै शुद्ध (चोखो) एक छाक मात्रै खाना खाएर बस्नु पर्ने नियम परापूर्वकाल देखी चलिआएको अध्यक्ष धामीले बताए । शिवलिङ्गका रूपमा परिचित शैल्यशिखरधाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको स्थानीय कला संस्कृतिका जानकार गणेशसिंह धामीले जानकारी दिए ।

जात्राको दिन बिहानै श्रद्धालु भक्तजनहरू बाजागाजा बजाउँदै, फाग, झोडो, लोकभजन गाउँदै मालिकार्जुन गाउँपालिका–३, मडस्थित भण्डारघरबाट शैल्यशिखरधाम जाने गरेको उनले बताए । शैल्यशिखरधामको दर्शनमा जाँदा हरेक व्यक्तिले अनिवार्य रूपमा हात हातमा लौरो बोक्नु पर्ने तथा करिब तीन किलोमिटर खाली खुट्टा हिँड्नु पर्ने चलन रहिआएको उनले बताए । भक्तजनहरूले धामबाट फर्किदा शैल्यशिखरबाबाको प्रसादका रूपमा निगालो ल्याउने तथा निगालोको पात गाई गोरुलाई खुवाएमा बिरामी नहुने किम्बदन्ती छ ।

सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्डको धारचुला, डिडिहाट, मुन्स्यारी, पिपली, अस्कोट चम्पावत, र पिथौरागढबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । मालिकार्जुन मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धामका रूपमा घोषणा गरेको थियो ।

जात्राको अवसरमा यहाँका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा समेत दिएका छन् ।