
अत्तरिया – कैलालीको गोदावरी धाममा झोलुङ्गे पुल निर्माण गर्न विनियोजन गरिएको २५ लाख रकम फ्रिज गएको छ । गोदावरी धाममा झोलुङ्गे पुल निर्माण गर्न चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले २५ लाख रकम विनियोजन गरेको थियो ।
पुलका लागि बजेट विनियोजन हुँदा आ-आफ्नो नेताको पहलमा बजेट विनियोजन भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्न राजनितिक दलका नेता कार्यकर्ताहरुकोे होडबाजी नै चलेको थियो ।

यद्यपी कैलाली क्षेत्र नम्बर ४ बाट राप्रपाबाट प्रतिनिधित्व गर्दै प्रदेश सभा सदस्य बनेकी खेमादेवी विष्टले आफूले उक्त योजना हालेको प्रदेश सभा वैठकमै दावी गरेकी थिइन् ।
गोदावरी धाम विकास समितिले आफूलाई दिएको उक्त योजना बजेटमा समावेश भएको हुँदा श्रेय नलिन उनले अन्य जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेकी थिइन् ।
विभिन्न कारण देखाउँदै उक्त बजेट फ्रिज जाँदा आफूलाई निकै दुख लागेको विष्टले बताएकी छिन् । राजनीतिक खिचातानीका कारण झोलुङ्गे पुलको बजेट फ्रिज हुन पुगेको उनको बुझाई छ । झोलुङ्गे पुल निर्माण गर्न आगामी आर्थिक वर्षका लागि पनि २५ लाख रकम विनियोजन गरिएको उनले बताइन् ।
यातायात पूर्वाधार निर्देशनालय डोटीका निमित्त निर्देशक जगत प्रसाद जोशीले झोलुङ्गे पुल निर्माणका लागि स्रोत सुनिश्चितता नहुँदा रकम फ्रिज भएको बताए ।
“झोलुङ्गे पुल २५ लाखमा मात्रै बन्दैन, यसलाई बहुवर्षीय योजनामा लैजानुपर्दछ त्यसका लागि अर्थ मन्त्रालयले अनुमति दिनुपर्ने हुन्छ जुन हामीले पाएनौ । त्यसैले यो रकम फ्रिज गयो उनले भने ।”
गोदावरी धाम वारी र पारी जोड्नेगरि पुल निर्माण गर्न गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले संघिय बजेटमार्फत पनि डीपीआर गराएका थिए । तर आफूहरुले स्टिमेट गरेको ठाँउमा पुल निर्माण गर्न नसकिने डीपीआर कम्पनीले जानकारी दिएको भट्टको भनाई छ ।















