
धनगढी – कैलालीको मोहना नदीबगरमा ठुलो सङ्ख्यामा पानीगौँथली आइपुगेका छन्। उचित बासस्थानको खोजीमा दक्षिणबाट उत्तरतिर सर्दै पानीगौँथली कैलारी गाउँपालिका–३ स्थित मोहना नदीबगरमा आइपुगेका हुन्।
केही दिनदेखि खोनपुर, निमुवा बोझी क्षेत्रमा पानीगौँथली देखा परिरहेको कैलारी गाउँपालिका–१, हसुलियाका वाइल्डलाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिए। उनका अनुसार यस पटक अहिले हाराहारी एक हजार सङ्ख्यामा रहेको पानीगौँथलीको एउटा झुन्ड देखा परिरहेको छ । अझै थप पानीगौँथली आउने उनले बताए।

यस ठाउँमा प्रत्येक वर्ष असोज महिनामा ठुलो सङ्ख्यामा पानीगौँथली आउने गरेको जनाइएको छ। आफ्नो पुर्खा पुगेको ठाउँमा यो प्रजातिका चरा प्रत्येक वर्ष आएर आहारविहार गर्ने गरेको चराविज्ञ हिरूलाल डङ्गौराको भनाइ छ। उनले निमुवा बोझी, खोनपुर, भितरिया क्षेत्रमा मोहना नदीको बगर पानीगौँथलीका लागि उपयुक्त वासस्थान रहेको उल्लेख गरे।
‘मोहना नदीमा बगर त अरूतिर पनि छ,’ डङ्गौराले थपे, ‘तर अरूतिर यो चरा जाँदैन। विगत केही वर्षदेखि हरेक वर्ष एउटै क्षेत्रमा आएर बस्ने, रमाउने गरेको देखिएको छ।’ भारतको उत्तर प्रदेशस्थित घाँघरा, गङ्गा र शारदा जस्ता ठुला नदीबगरका रैथाने पानीगौँथली गर्मीयाममा बसाइँ सरेर कैलालीको मोहना नदीमा पुग्ने गरेको बताइन्छ। पानीगौँथली चरा केही यहीँको रैथाने रहे पनि धेरै जसो भारतबाट बसाइँ सरेर आउने गरेको डङ्गौराले बताए। ‘भारतको उत्तर प्रदेशमा रहेका ठुला नदीमा बाढीले वासस्थान बिगारेपछि उपयुक्त बसोबासको खोजीमा यी चरा दक्षिणबाट केही उत्तर बसाइँ सर्ने गर्छन्।’
नदी किनार र ससानो ढुङ्गामा पानीगौँथली चरा बस्ने गरेको जनाइएको छ। चराका लागि मोहना नदीमा वासस्थान राम्रो रहेको बताइएको छ। ठुलो सङ्ख्यामा नदी किनारमा बस्ने पानीगौँथलीले पानीमाथि उड्ने किरालाई खाने गर्छन्। आहारा पर्याप्त मात्रामा पाइने ठाउँमा यो प्रजातिका चरा बस्न रुचाउने गरेको जनाइएको छ। बर्ड लाइफ इन्टरनेसनल २०१३ का अनुसार नेपाल, भारतसहित पानीगाँैथली अफगानिस्तान, बहराइन, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, इरान, मलेसिया, म्यान्मार, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, युएई, भियतनाम, यमन, सिङ्गापुर, ओमानलगायतका देशमा पाइने गर्छन्।