
काठमाडौं – भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको हो । ‘चार जनाको तर्फबाट जाहेरी आएको थियो त्यसलाई हामीले जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले त्यहाँ पठायौं,’ भट्टराईले भने ।

प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो । मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे । अन्ततः प्रहरीले जाहेरी लिएर दर्ता नगरी त्यसलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठायो ।
सोमबार नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारले दिने जाहेरी र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे सुरक्षा अधिकारीहरू र सरकारका प्रतिनिधिहरूबीच पटकपटक छलफल भएको थियो ।
घटनाको दोषी कारबाहीको दायरामा आउनुपर्नेमा सरकारी अधिकारीहरु एकमत भएपनि निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ नै गरिहाल्ने मनस्थितमा सरकारी अधिकारीहरू नै छैनन् । केही कानुनी अवस्था र परिस्थितिले उनीहरूलाई ‘पर्ख र हेर’को अवस्थामा पुर्याएको छ ।