विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भयो – परराष्ट्र मन्त्रालय

Image
maya metro

काठमाडौं – परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासमार्फत् आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।

nisarga

मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले अपहरण गरेर गाजामा बन्धक बनाएर राखेको थियो ।

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि हमासले सोमबार विपिन जोशीसहित ४ जनाको मृत्यु भएको जानकारी गराएको थियो । सोमबार नै गाजा पुगेर विपिनसहित ४ जनाको शव रेडक्रसको टोलीले इजरायल ल्याएका थिए ।

इजरायलमा डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्यतिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको छ ।

विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन उचित पहल गरिने परराष्ट्र मन्त्रालयले भनेको छ ।

‘विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरुसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ,’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।