
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गर्ने निर्णयप्रति कैलालीको जिल्ला कार्यसमिति तथा पालिका र क्षेत्रीय सभापतिहरुले गम्भीर आपत्ति जनाएका छन् ।
पार्टीको जिल्ला कार्यसमिति, १३ वटै पालिका सभापति तथा ५ वटै क्षेत्रीय सभापतिहरुको आइतबार बसेको संयुक्त वैठकले केन्द्रिय निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको हो ।

वैठकले विज्ञप्ति जारी गर्दै गत जेठ २४ गते सम्पन्न भएको पार्टीको कैलाली जिल्ला अधिवेशन विधिवत्, लोकतान्त्रिक तथा संगठनको निर्धारित प्रक्रिया अनुरूप सम्पन्न भएको निष्कर्षसहित त्यसबाट निर्वाचित जिल्ला कार्यसमितिको वैधानिकता र वैधताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरेको छ ।
कैलाली जिल्ला अधिवेशनमा प्रत्यक्ष रूपमा सहभागी रहेका जिल्ला, पालिका तथा क्षेत्रीय तहका जिम्मेवार नेतृत्व, प्रतिनिधि तथा कार्यकर्ताहरूको वास्तविक अवस्था, स्थलगत प्रतिवेदन तथा तथ्यगत जानकारीलाई बेवास्ता गर्दै केन्द्रीय निर्वाचन आयोगबाट गरिएको निर्णयप्रति आफूहरुको गम्भीर आपत्ति रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित पक्षहरूको वस्तुगत अध्ययन, स्थलगत अनुगमन तथा सम्पूर्ण सरोकारवालासँग आवश्यक परामर्श नगरी गरिएको निर्णयले पार्टीको आन्तरिक लोकतन्त्र, विधि र संगठनात्मक मर्यादामाथि प्रश्न उठाएको वैठकले ठहर गरेको छ ।
कैलाली जिल्लाको वास्तविकता र कार्यकर्ताको भावना विपरीत कुनै व्यक्ति वा सीमित समूहको चाहना, दबाव वा प्रभावका आधारमा गरिने अपरिपक्व निर्णयहरूले पार्टी संगठनलाई दीर्घकालीन रूपमा क्षति पुरÞ्याउन सक्ने भएकाले यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्ने वैठकको निष्कर्ष रहेको छ ।
हजारौं कार्यकर्ताको सहभागिता र जनमतबाट सम्पन्न भएको अधिवेशनको मर्म, भावना र वैधानिकतालाई सम्मान गर्दै केन्द्रीय निर्वाचन आयोगले आफ्नो निर्णय यथाशीघ्र पुनर्विचार गरी सच्याउनुपर्ने आफूहरुको स्पष्ट माग रहेको पालिका र क्षेत्रीय सभापतिहरु तथा जिल्ला कार्यसमितिको संयुक्त वैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

















