
अत्तरिया – नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आजदेखि पाँच दिन सुदूरपश्चिममा रहनेछन् । यहाँका विभिन्न विकासका आयोजनाहरुको अनुगमनका लागि मन्त्री लम्साल सुदूरपश्चिम आएका हुन् ।
कैलालीको अत्तरियामा समर्थक एवम् सरोकारवालाहरुसंगको भेटमा उनले सुदूरपश्चिमका समस्या सम्बोधन गर्ने बाचा व्यक्त गरेका छन् । विगतमा कम विकास भएका जिल्ला तथा प्रदेशहरुलाई आफूले बजेटको प्राथमिकतामा राखेको बताउँदै उनले सुदूरपश्चिमममा ३१४ किलोमिटर सडक कालोपत्रेको लागि करिब साढे ६ अर्ब बजेट छुट्याइएको बताए ।

सबै पालिकाका केन्द्रमा पक्की बाटो पुर्याउने उदेश्य रहेको पनि उनले बताए । यस्तै, सघन सहरी कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण तथा मर्मतमा पर्याप्त बजेट रहेको र तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा पनि विभिन्न योजना कार्यान्वयन गरिने मन्त्री लम्सालले बताए ।
आफ्नो मन्त्रालयमा आउँदा अन्य योजनाका लागि समेत सक्दो सहजीकरण गर्ने भन्दै उनले माग ल्याएर आफूकहाँ आउन रास्वपाका प्रदेश, जिल्ला, नगर र वडा कमिटिहरुहरुलाई आग्रह समेत गरे । “मेरो नेतृत्वको मन्त्रालयमा आएपछि कुनै अरु मन्त्रालय जानु पनि पर्दैन । किनभने एउटै पार्टीको सरकार सबै मन्त्रालयको काममा सहजीकरण गर्छु, तपाईहरुको समस्या सम्बोधनका लागि मेरो बाचा भयो, सरकारको बाचा भयो, उनले भने ।”
विभिन्न आयोजनाहरुको अनुगमन गर्न सुदूरपश्चिम आएका मन्त्री लम्साल भदौ ३ गते काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।














