एनभिडियाका सीईओ हुआङको राजीनामा, सिलिकन भ्यालीदेखि वासिङ्टनसम्म तरंग

Image
maya metro

काठमाडौं – एआई चिप निर्माता अमेरिकी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि अचानक पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामाले सिलिकन भ्यालीदेखि अमेरिकी राजधानी वासिङ्टनसम्म तरंग पैदा गरेको बीबीसीले जनाएको छ । हुआङको कथित सम्बन्ध चिनियाँ जासुससँग रहेको हो वा होइन भन्नेबारे जवाफ माग्दै अमेरिकी सांसदहरूले एनभिडियामाथि कडा निगरानी बढाएका छन् ।

nisarga

एआईको बढ्दो प्रभावसँगै विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनेको एनभिडियाले यो विवाद सार्वजनिक भएको पाँच दिनमै सेयर बजारमा ५५० अर्ब डलर बराबरको बजार पुँजीकरण गुमाएको छ ।

यसैबीच, कम्पनीकी अन्तरिम सीईओ कोलेट क्रेसले भविष्यको रणनीतिबारे छलफल गर्न कार्यकारी टोलीको आपत्कालीन बैठक बोलाएकी छन् ।

हुआङको कथित आचरणले व्यावसायिक मर्यादाको प्रश्न मात्र नउठाएर राष्ट्रिय सुरक्षामा पर्न सक्ने जोखिमबारे चिन्ता व्यक्त गर्ने अमेरिकी राजनीतिज्ञहरूको ध्यानसमेत एनभिडियातर्फ तानेको बताइएको छ ।
सन् १९९३ देखि एनभिडियाको सार्वजनिक अनुहारका रूपमा रहँदै आएका हुआङले आइतबार एक संदिग्ध चिनियाँ जासुस एलिस हुआङसँग विवाहेत्तर सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि पत्नीप्रति आफू इमान्दर नरहेको स्वीकार गरेका थिए ।

बुधबार भने उनको अर्को सम्बन्धबारे पनि खुलासा भयो । यसपटक उनी एनभिडियाकै एक उच्च अधिकारीसँग सम्बन्धमा रहेको बताइएको छ ।

‘न्युयोर्क टाइम्स’का अनुसार एलिस हुआङ (पारिवारिक नाता नपर्ने) सिंगापुरस्थित कम्पनी ‘मेगास्पिड’मा कार्यकारी पदमा कार्यरत थिइन् । उनी चीनका लागि गुप्तचरका रूपमा काम गरिरहेको आशंका गरिएको छ । चीनले भने यी आरोपलाई चरित्र हत्या गर्ने प्रयास भन्दै अस्वीकार गरेको छ ।

बिहीबार अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले एलिस हुआङ बेइजिङका लागि जासुसीमा संलग्न थिइन् वा थिइनन् भन्नेबारे न्याय विभागले अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताएका छन् ।

यसैबीच, सिनेटर एलिजाबेथ वारेन र क्रिस कुन्ससहित हाउस फरेन अफेयर्स कमिटीका अन्य डेमोक्र्याट सांसदहरूले हुआङलाई आफ्नो कथित सम्बन्धबारे कंग्रेससमक्ष स्पष्टीकरण दिन सार्वजनिक रूपमा माग गरेका छन् ।

सिनेटका एक कर्मचारीले बीबीसीलाई बताएअनुसार, हुआङले संसदीय समितिको सुनुवाइमा स्वेच्छाले उपस्थित हुन अस्वीकार गरेमा उनलाई कानुनी समाह्वान जारी गर्न सकिन्छ ।

बुधबारदेखि एनभिडियाका प्रतिनिधिहरूले यस विषयमा टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन् । हुआङका निजी प्रतिनिधिले पनि बिहीबार कुनै प्रतिक्रिया दिएका छैनन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार, हुआङको कथित दोस्रो सम्बन्ध एनभिडियामा लामो समयदेखि कार्यरत अधिकारी किम्बर्ली पावेलसँग थियो । उनी कम्पनीभित्र हुआङलाई प्रत्यक्ष रूपमा रिपोर्ट गर्थिन् । एनभिडियाका केही कर्मचारीले यी दुईबीच अस्वाभाविक निकटता रहेको देखेको स्रोतहरूले बीबीसीलाई बताएका छन् ।

कम्पनीले आफ्ना सीईओ विदेशी गुप्तचर निकायको निशानामा परेका थिए वा थिएनन् भन्नेबारे अनुसन्धान सुरु गरेको घोषणा गरे पनि पहिलो सम्बन्ध सार्वजनिक हुँदा हुआङले विवादलाई सहजै पार लगाउने अपेक्षा गरिएको थियो ।

एनभिडियाका एक वर्तमान कर्मचारीका अनुसार, कम्पनीका सामान्य कर्मचारीहरूले उनको विवाहेत्तर सम्बन्धबारे आएका प्रारम्भिक समाचारलाई खासै गम्भीरतापूर्वक लिएका थिएनन् ।

बीबीसी