
अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर-१ स्थित धनगढी रोड अत्तरियामा रहेको ममता सेकुवा सेन्टरमा आइतबार दिउँसो छापा मारेर इलाका प्रहरी कार्यालय मालाखेती लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ५२ वर्षीय मिनराज भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायक उपरीक्षक हिरासिंह महराले बताएका छन् । शाही हाल गोदावरी र भट्ट धनगढीमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीले उनीहरूको साथबाट २ किलो २०५ ग्राम चरेस बरामद गरेको जनाएको छ । दुवै जनालाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















