सुदूरपश्चिमका पत्रकारलाई पर्यटन फोटो पत्रकारिता तालिम प्रदान गरिँदै

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमका पत्रकारहरुका लागि पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । विभिन्न जिल्लाका ३५ जना पत्रकारहरुका लागि पर्यटन फोटो पत्रकारिता तालिम आजदेखि धनगढीमा सुरु भएको हो । नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीनदिने तालिम सञ्चालन गरिरहेको हो ।

प्रदेशका पर्यटकिय स्थलहरुको प्रचारप्रसार र पत्रकारको क्षमता अभिवृद्धी गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहको केन्द्रिय अध्यक्ष प्रदिपराज वन्तले बताए । एउटै फोटोले धेरै कुराहरु बताउन सक्ने भन्दै उनले पर्यटन गतिविधि वृद्धीमा पत्रकार र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिमले प्रदेशकै पर्यटन अभियानलाई सुदृढ बनाउन सहयोग गर्ने बताए ।

nisarga

सुदूरपश्चिम धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्र भएकोले यहाँका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गरिएको यो तालिमले पर्यटन क्षेत्रको विकासका लागि टेवा पु¥याउने उनले बताए । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादनका लागि यस्ता तालिम आवश्यक रहेको बताए ।

तालिमका सहभागीले फील्ड अभ्यासका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान, प्राकृतिक आकर्षण र पर्यटन सम्भावनाहरू अवलोकन गर्दै ‘उच्चस्तरको फोटो–डोकुमेन्टेसन’ तयार गर्नेछन् ।
पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए ।

फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्बिर कथा निर्माण, प्रकाश–छायाँको व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण सञ्चालन गर्नेछन् । कार्यक्रमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरिरहेका छन् । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।