आनन्दको चुनावी अभियान थप तीव्र

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गोरखबहादुर बिष्ट ‘आनन्द’ले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।

आफ्नाे क्षेत्रअन्तर्गत पर्ने गाैरीगंगा नगरपालिका र चुरे गाउँपालिकाको चुनावी अभियान सकेर उनी यतिबेला गाेदावरी नगरपालिका केन्द्रित भएका छन्।

nisarga

यस क्रममा बिष्टले आज एकै दिन दर्जनभन्दा बढी चुनावी सभा र भेटघाट गरेका छन्। कैलालीको गोदावरी नगरपालिका–११ स्थित भाटुलीमाडु मन्दिर क्षेत्रमा घरदैलो, टोलभेला र र्यालीका क्रममा बिष्टलाई थप ऊर्जा मिलेको छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित खन्टे बुढा कांग्रेसमा प्रवेश गरेका छन्। लामो समय एमालेमा सक्रिय रहँदै आएका बुढाले एमाले परित्याग गरि कांग्रेसको सदस्यता ग्रहण गरेका हुन्। उनलाई बिष्टले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

बुढाको प्रवेशले कैलाली क्षेत्र नम्बर- ४ मा कांग्रेसको अभियानलाई थप मजबुत बनाउने विश्वास बिष्टले व्यक्त गरे। स्थानीय तहमा प्रभाव राख्ने नेताको समर्थनले मतदातामा सकारात्मक सन्देश जाने र चुनावी परिणाममा समेत असर पार्ने आकलन गरिएको छ।

यसअघि गोदावरी नगरपालिका–१२ को कोल्मुडामा आयोजित चुनावी कार्यक्रममा आनन्दले मतदातासामु आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए। उनले अरुको अलोचनाको राजनीतिभन्दा आफू माथि उठेर भाैतिक विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुल मन्त्र बनाएर यहाँ आएको बताए।

बिष्टले भने, ‘मेराे राजनीतिको लक्ष भनेकाे पद हाेइन, जनताको सेवा र जिम्मेवारीको माध्यम हो।’

त्यसअघि उनले वडा नम्बर-१२ कै ओलनीमा भएको घरदैलो अभियानमा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै समस्याहरू सुनेका थिए। आजै वडा नम्बर-९ को सेहरी गाउँमा पुगेका आनन्दले राना थारु समुदायसँग विशेष भेटघाट गर्दै समावेशी विकास र पहिचानको सम्मान गर्ने प्रतिबद्धता जनाए।

गोदावरी नगरपालिका वडा नम्बर-६ को रामजानकी टोलमा आयोजित चुनावी भेलामा उनले जनतासँग भलाकुसारी गरेका थिए भने वडा नम्बर ६ र ७ मा संयुक्त वडा र्याली निकाल्दै कांग्रेस कार्यकर्ताले कांग्रेसको पक्षमा प्रदर्शन गरेका थिए।

र्यालीका क्रममा टोल–टोलबाट आएका समर्थकहरूले नेता आनन्दलाई फूलमाला लगाएर स्वागत गरेका थिए।

टोलटाेलमा पुगेर मत माग्ने क्रममा एक विशेष क्षमताका व्यक्तिले नेता आनन्दलाई अंगालाे मार्दै आफू रुख चिन्हमा भोट हाल्ने वाचा गरेकाे दृश्यले घरदैलोमा सहभागी सबैलाई भावुक बनाएको थियो।

विभिन्न बस्तीमा बढ्दो जनसमर्थन र एमालेका नेता कार्यकर्ता नै चुनावको मुखमा कांग्रेस प्रवेश प्रवेश गर्नुले कैलाली क्षेत्र नम्बर- ४ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।