प्रतिनिधि सभा निर्वाचन प्रचारमा आनन्दका ४१ दिन : ३० वटै वडाका मतदातासंग दुईपटक भेट, क्षेत्र नम्बर ४ बासीले गर्व गर्न लायक सांसद बन्ने बाचा

Image
maya metro

अत्तरिया – आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचार प्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन- ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचार प्रसारको समय प्रदान गरेको छ ।

मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने आयोगले स्पष्ट पारेको छ ।

nisarga

मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । माघ ६ गते मनोनयन दर्ता गरेका उम्मेदवारहरुले त्यसपछिका ४१ दिन मतदातासंगै बिताए।

कैलाली क्षेत्र नम्बर- ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोरख बहादुर विष्ट आनन्दले माघ ७ गते देखि आफ्नो चुनावी प्रचार सुरु गरेका थिए ।

बिहान गोदावरी धामको दर्शन गरी चुनावी प्रचारप्रसार सुरु गरेका विष्ट हरेक ठाउँमा भाषण गर्दा मेरो औँला समातेर घरदैलो गराएको भन्दै आफ्ना नेता, कार्यकर्ताप्रति हार्दिकता प्रकट गर्छन् ।

निर्वाचनमा पहिलोपटक भाग लिएका विष्टले निर्वाचन क्षेत्रमा आफ्ना नेता कार्यकर्ताको राम्रो साथ पाएको महसुस गरेका छन् । यसबिचमा उनले आफ्नो निर्वाचन क्षेत्रका ३० वटै वडाका मतदाताहरुसंग दोहोर्याएर संवाद गरेको बताए ।

कांग्रेस कैलाली- ४ का सभापति बसन्त रोकाया ललित आफूहरुले करिब ५० हजार मतदातासंग प्रत्यक्ष अप्रत्यक्ष संवाद भएको बताउँछन् । बिहान सबेरैदेखि राती अबेरसम्म उम्मेदवार विष्ट मतादातासंगै रहेको भन्दै उनले बिहे, ब्रतबन्धलागयतका शुभ कार्य र शवयात्रामा पनि सहभागि भएको बताए ।

क्षेत्र नम्बर-४ बासीले गर्व गर्न लायक सांसद बन्ने बाचा

हरेक भेला, कार्यक्रम, सभाहरुमा यस क्षेत्रका नेता, कार्यकर्ताहरुप्रति कृतज्ञ भएर भाषण गर्ने विष्टले आफू क्षेत्र नम्बर ४ बासीले गर्व गर्न लायक सांसद बन्ने बाचा दोहोर्याका छन् ।

कांग्रेस कैलाली- ४ ले आइतबार मसुरियामा आयोजना गरेको कोण सभामा पनि उनले यहि बाचा दोहोर्याए । उनले भने ‘म क्षेत्र नम्बर-४ बासीले गर्व गर्न लायक सांसद बन्नेछु भनेर तपाईहरुलाई आश्वासन दिन्छु हजुर, हाम्रो क्षेत्रको सांसदले देशको निति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो भनेर तपाईहरुले गर्व सक्नुहुनेछ ।’,

गाउँको दुख र राष्ट्रिय अन्तराष्ट्रिय परिवेशदेखि विश्वका विकसीत मुलुकको विकास मोडलसम्म आफूले देखेको हुँदा आवश्यकता अनुसार यस क्षेत्रको विकास गर्न सक्ने उनी दावी गर्छन् ।

कांग्रेस रुपान्तरित भएर आएकोले यो निर्वाचनमा कांग्रेसले जितेमा शिक्षा र स्वास्थ्य निशुल्क गर्नुका साथै रोजगारी सिर्जना गरी बाध्यताले विदेशीनु पर्ने अवस्थाको अन्त्य हुने विष्ट दावी गर्छन् ।

आफ्ना मतदाताको शिर निहुरिने काम कहिल्यै नगर्ने भन्दै विष्टले मर्दाको मलामी र जिउँदोको जन्ती भएर आफू आएको बताएका छन् ।

हरेक वडा घुम्दै डायरीमा टिपेका हरेक समस्या समाधान गर्ने विष्टले बताउँदै आएका छन् । पार्टीको तल्लो तहमा रहेका नेता कार्यकर्ताहरु निस्वार्थ भावनाले सक्रिय भएकै कारण कांग्रेस जिउँदो रहेको उनको भनाई छ ।