
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समाप्त गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो शैलीमा ट्रुथ सोसलमा लेखेका छन्– आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ ।
हर्मुज जलसन्धि खोल्नका लागि दिइएको समयसीमा आज राति सकिँदै गर्दा ट्रम्पको यो धम्की आएको हो । ट्रम्पले इरानमाथि निरन्तर स्थलगत कारबाहीको धम्की दिइरहेका छन् । यता, इरानले पनि आफ्नो धैर्यता अब समाप्त भइसकेको र अमेरिकाका साथै उसका सहयोगी राष्ट्रहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ ।

यसअघि ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा हर्मुज जलसन्धि खुलाउन चेतावनी दिँदै इरानका ऊर्जा प्लान्टहरू र पुलहरू ध्वस्त पार्ने कुरा दोहोर्याएका थिए । उनले इरानलाई ‘एकै रातमा समाप्त गर्न सकिन्छ’ भनेका थिए ।
यदि इरानले तोकिएको समयभन्दा अगाडि अमेरिकासँग सम्झौता नगरे जुनसुकै बेला कारबाही हुन सक्ने चेतावनी दिएका थिए । र यो मंगलबार राति हो । ह्वाइट हाउसमा ट्रम्पले इरानका नेताहरू वार्ता गरिरहेका तर कुनै सम्झौता हुनेछ कि छैन भन्ने अझै स्पष्ट नभएको बताए । यता, इरानले पनि अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ ।
ट्रम्पले ट्रुथ सोसलमा के लेखेका थिए ?
ट्रम्पले लेखेका छन्, ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, जसलाई फेरि कहिल्यै फर्काउन सकिने छैन । म यस्तो होस् भन्ने चाहन्नँ, तर सायद यस्तै हुनेछ । यद्यपि, अब जब हाम्रो यहाँ पूर्ण सत्ता परिवर्तन भएको छ– जहाँ फरक, अधिक समझदार र कम कट्टर सोचका व्यक्तिहरू हाबी छन् – तब सायद केही धेरै शानदार र क्रान्तिकारी हुन सक्छ । कसलाई थाहा ? हामीलाई आज राति थाहा हुनेछ । जो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमध्ये एक हो । ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्युको सिलसिला अन्ततः समाप्त हुनेछ । इरानका महान् जनतामाथि ईश्वरको कृपा रहोस् !
















