
काठमाडौँ – अन्तिम समयसीमा सकिएसँगै अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेका छन् । अमेरिकी टेलिभिजन संस्था सिएनएन, अमेरिकी समाचार संस्था एपी, अलजजिरालगायतले इरानको खर्ग टापु, पुल, रेल सञ्जाल, ऊर्जा पूर्वाधारलगायतमा आक्रमण भइरहेको जनाएका छन् ।
इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चार माध्यमका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानबाट आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई सुरक्षा प्रणालीमार्फत अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ । खाडी क्षेत्रभरि तनाव चुलिँदै जाँदा बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन रोक्न सक्रिय रहेको जनाएको छ । साउदी अरबले पनि आफ्नो पूर्वी क्षेत्रमा प्रक्षेपण गरिएका सात वटा ब्यालेस्टिक मिसाइल अवरोध गरी नष्ट गरेको दाबी गरेको छ, जसका भग्नावशेष ऊर्जा संरचनानजिक खसेको बताइएको छ ।
एकैरातमा ध्वस्त पार्ने चेतावनी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा नआए एकैरातमा ध्वस्त पार्ने चेतावनी दिएका छन् । । इरानले भने अमेरिकी प्रस्ताव अस्वीकार गर्दै मुलुकका पूर्वाधार जोगाउन मानव साङ्लो बनाउन इरानी जनतालाई आह्वान गरेको छ । इजरायलले १२ घण्टाका लागि रेलसेवा प्रयोग नगर्न इरानी जनतालाई आह्वान गर्दै चेतावनी जारी गरेको छ ।
बलिदानका लागि इरानी तयार
यता इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको दाबी गरेका छन्। उनले आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए । “एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदानी भएको छु र हुने छु,” उनले भने ।
यसअघि इरानका उपखेलकुदमन्त्री अलिरेजा रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकलाई पावर प्लान्टवरिपरि ‘मानव साङ्लो’ बनाउन आह्वान गरेका थिए । ट्रम्पले ह्वाइट हाउसमा भने , “ इरानले मङ्गलबार राति ८ः०० बजे पूर्वी समयअघि सम्झौता गर्न आएन भने देशका सबै प्रमुख पुल र पावर प्लान्ट नष्ट गरिने छन् ।” उनका अनुसार यो ‘पूरै देशलाई एकैरातमा निसाना बनाउने’ योजना हुन सक्छ । उनले बारम्बार समयसीमा थपे पनि यो अन्तिम चेतावनी भएको बताएका छन् ।
इरानले भने हर्मुज जलमार्ग नखोल्ने अडान लिँदै सैन्य कारबाही जारी राख्ने जनाएको छ । इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई ‘अहङ्कारी र आधारहीन धम्की’ भन्दै अस्वीकार गरेको छ । कूटनीतिक प्रयासतर्फ प्रस्तावित ४५ दिने युद्धविराम अझै टुङ्गोमा पुगेको छैन । पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा आएको प्रस्तावलाई सुरुमा सकारात्मक सङ्केत दिइए पनि पछि ट्रम्पले त्यसलाई पर्याप्त नभएको बताएका छन् । इरानले पनि युद्धविराम अस्वीकार गर्दै युद्धको ‘निश्चित अन्त्य’ आवश्यक रहेको जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार इरानले भविष्यका आक्रमण रोक्ने ग्यारेन्टी र दक्षिणी लेबनानमा आफ्नो सहयोगी हेजबुल्लाहमाथि हुने आक्रमण अन्त्य गर्न माग राखेको छ । प्रस्ताव अनुसार इरानले हर्मुज जलमार्ग पुनः खोल्दै प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिने र त्यसलाई ओमानसँग बाँड्ने योजना रहेको बताइएको छ ।
सर्वोच्च नेता गम्भीर बिरामी
इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खामेनी बेहोश अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ ।
द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । पश्चिम एसियामा युद्ध सुरु भएयता खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। खामेनी नाममा जारी गरिएका सन्देश भने इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका छन् । त्यसैबिच सोही प्रतिवेदनमा खामेनीको सम्भावित निधनलाई ध्यानमा राख्दै कोममा अन्त्येष्टि तयारीसमेत सुरु गरिएको उल्लेख गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।

















