
कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षायाममा बाढी, हिलो र प्राकृतिक अवरोधका कारण पर्यटकको सुरक्षा एवं वन्यजन्तुको प्रजननलाई दृष्टिगत गर्दै निकुञ्जमा सफारी बन्द गरिएको हो । पर्यटकलाई अर्काे सूचना जारी नभएसम्मका लागि यो सातादेखि निकुञ्ज प्रवेशमा रोक लगाउने निर्णय गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए ।
मौसममा सुधार हुँदै गए आगामी असोजमा सफारी खुला गरिने निकुञ्जको कार्यालयले जनाएको छ । वाग्लेका अनुसार निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षमा करिब ३८ हजार पर्यटकले अवलोकन गरेका थिए । उनीहरूले निकुञ्ज क्षेत्रमा प्राकृतिक ताल तलैया, वनस्पति, चराचुरुङ्गीलगायत वन्यजन्तुको दृश्यावलोकन गरेका थिए ।

चालु आवमा निकुञ्ज क्षेत्रको अवलोकन गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या अत्यधिक रहेको छ । कार्यालयका अनुसार एक हजार ३६९ महिला र एक हजार ९५६ पुरुष गरेर तीन हजार ३२५ आन्तरिक पर्यटकले निकुञ्ज क्षेत्रको अवलोकन गरेका थिए ।
बाह्रसिङेको लागि प्रसिद्ध यस राष्ट्रिय निकुञ्जमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी वाग्लेको भनाइ छ ।
निकुञ्ज प्रवेशमा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटकका लागि छुट्टाछुट्टै प्रवेश शुल्कसमेत उठाउँदै आएको छ । हाल नेपालीका लागि एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकलाई ७५० रुपियाँ र विदेशी पर्यटकलाई एक हजार पाँच सय रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको सूचना अधिकारी वाग्लेले बताए ।
सूचना अधिकारी वाग्लेले निकुञ्ज कार्यालयले विभिन्न शीर्षकमा राजस्वबापत चालु आव २०८२/८३ को जेठ मसान्तसम्म ८९ लाख ६५ हजार ९०३ रुपियाँ राजस्व सङ्कलन गरेको पनि बताए । उनका अनुसार निकुञ्ज कार्यालयले पर्यापर्याटन शुल्कबापत २० लाख १५ हजार ९८४ रुपियाँ रकम प्राप्त गरेको छ ।
त्यसै गरी दण्डसजायबाट १८ लाख ८२ हजार ९६६ रुपियाँ, खरखडाइबापत ११ लाख चार हजार ४३५ रुपियाँ, अन्य शीर्षकबाट ३४ लाख ७४ हजार २९ रुपियाँ र काठ दाउरा बिव्रmीबापत चालु आवको ११ महिनामा ८९ लाख ६५ हजार ९०३ रुपियाँ राजस्व सङ्कलन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।















