बाल उद्यानसहितको शिव मन्दिरलाई धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ स्थित पृथ्वी नगर टोलमा रहेको शिव मन्दिरलाई धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ ।

करिब ४ बिघा क्षेत्रफलमा फैलिएको यो मन्दिरलाई सुदूरपश्चिमकै धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बलमपाकीले बताएका छन् ।

nisarga

मन्दिरमा हाल  धार्मिक संरचनाहरूका साथै बाल उद्यान समेत रहेको छ । गोदावरी नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा दुई वर्षअघि बाल उद्योग निर्माण गरिएको बलमपाकीले बताए ।

उक्त उद्यानमा बालबालिकाहरुका लागि मात्रै नभएर अन्य उमेर समूहका व्यक्तिहरूका लागि व्यायाम गर्ने साधनहरू पनि राखिएको छ । अध्यक्ष बलमपाकीकाअनुसार मन्दिरमा फलफूलका साथै थुप्रै धार्मिक वनस्पतिहरू रोपण गरिएको छ ।

शमी, बेल, ढाँक,रक्त चन्दन,कुश,अमला, गुलमोहर, श्रीखण्ड लगायतका बिरुवा रोपिएको उनले बताए । अब लगत्तै मन्दिरको डिपीआर तयार गर्ने उनले बताए । मन्दिरको दक्षिणपट्टिको भागमा पोखरी खनेर माछा पालन गरिने उनले बताएका छन् ।

त्यस्तै हाल पोखरीकै स्वरूपमा रहेको तर प्रयोगमा नआएको मन्दिर परिसरको अर्को पोखरीलाई स्विमिङ पुलकारुपमा विकास गर्ने योजना रहेको उनको भनाई छ । “मन्दिरको दक्षिण पट्टी बेसरमको झाडी छ, त्यो फडानी गरेर हामीले माछा पोखरी बनाउने योजना बनाएका छौँ, उनले भने, हामीसँग अलरेडी एउटा पोखरी छ, तर त्यो प्रयोगमा छैन त्यसलाई मर्मत गरेर स्विमिङ पुलकारुपमा विकास गर्ने योजना बनाएका छौँ ।”

बिचबिचमा गोलघर,आराम बेन्च, पार्क लाइटसहित मन्दिरको चारैतिर पैदल मार्ग निर्माण गर्ने योजना रहेको बलमपाकीले बताएका छन् । त्यस्तै मन्दिरमा वृद्धाश्रम तथा धर्मशाला सञ्चालनमा ल्याउने योजना रहेको भन्दै उनले महान् शहीदका साथै सुदूरपश्चिम तथा देशभरिका ख्यातिप्राप्त व्यक्तिहरूका चिनारी झल्किने गरी होडिङ बोर्ड राख्ने बताएका छन् ।

त्यस्तै सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूबारे पनि होडिङ बोर्डमार्फत प्रचारप्रसार गरिने बलमपाकीले बताएका छन् । लोप हुन लागेका जीव जनावर तथा सुदूरपश्चिममा पाइने जडीबुटी बारे पनि होडिङ बोर्डमार्फत प्रचारप्रसार गरिने बलमपाकीको भनाई छ।

सुदूरपश्चिमको मुटु मानिने अत्तरियामा रहेको यस शिव मन्दिरमा धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्नु जरुरी देखिएको मन्दिर व्यवस्थापन समितिका सचिव सुरज बहादुर साउँदले बताए ।

उनले पछिल्लो समय हिन्दु धर्ममाथि निरन्तर प्रहार भइरहेको र धर्मान्तर गर्दै समाजमा विकृति फैलिरहेको हुँदा आफूहरु मन्दिर व्यवस्थापनका लागि सक्रिय भएर लाग्ने उनले बताएका छन् ।