
काठमाडौँ – भोटेकोशी र त्रिशुली नदीमा आएको भिषण बाढीका कारण करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित भएको यूएन विमेनले जनाएको छ । भदौ १० मा आएको आकस्मिक बाढीपहरोपछि कुल १ लाख ५७ हजार ५० जना महिला तथा किशोरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन यूएन विमेनले सार्वजनिक गरेको छ ।
महिला तथा लैँगिक विषयमा काम गर्ने यस संयुक्त्त राष्ट्रसंघीय संस्थाले शुक्रबार विज्ञप्ती गर्दै विपद्पछि जोगिएका सर्वसाधारण खाद्यान्न र खानेपानीको चरम अभावसँग जुधिरहेको र स्वास्थ्य तथा सुरक्षा सेवा अवरुद्ध हुँदा विशेषगरी महिला तथा किशोरीहरू हिंसा, शोषण र भोकमरीको उच्च जोखिममा परेको जनाएको छ ।

रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लामा प्रत्येक तीनमध्ये एक महिला निरक्षर छन् । यसले गर्दा राहत र सरकारी सहयोगसम्बन्धी विवरण बुझ्न उनीहरूलाई कठिन भएको छ । यस्तै बागमती प्रदेशमा एक तिहाइ घरधुरीको नेतृत्व महिलाले गरिरहेको तीमध्ये एक तिहाइ वैदेशिक रोजगारीको विप्रेषण (रेमिट्यान्स) मा निर्भर रहेको यूएन विमेतले उल्लेख गरेको छ ।
नेपालका लागि यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पाचेकोले विपद्को समयमा महिला र किशोरीहरूमाथि जोखिम तथा हेरचाहको दायित्व थप बढ्छ । ‘यो भयानक बाढीको पूर्ण क्षतिको विवरण अझै आउन बाँकी छ,’ उनले भनेकी छन्, ‘विपद् आउँदा महिला तथा किशोरीका लागि विद्यमान जोखिम ह्वात्तै बढ्छन् । धेरै महिला र किशोरी शोषण तथा दुर्व्यवहारमा पर्ने जोखिम हुन्छ । विगतका विपद्हरूको हेर्दा, पुरुषको तुलनामा धेरै महिलाको ज्यान जाने देखिएको छ ।’
विपद् प्रतिकार्यमा यूएन विमेनले प्रभावितलाई खाद्यान्न र अत्यावश्यक सेवा पुऱ्याउन महिला नेतृत्वको ‘कम्युनिटी किचन’ सञ्चालन गरेको जनाएको छ । साथै, २० लाख अमेरिकी डलरको आपत्कालीन सहयोगका लागि यूएन विमेनले अपिल गरेको छ ।













