
धनगढी – कैलालीमा प्रहरीले जुवातासमा संलग्न पाँच सय बढि व्यक्तिलाई पक्राउ गरि मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्ष २०८३/८४ को हालसम्म जुवातास खेल्ने कार्यमा संलग्न पाँच सय १३ जनालाई पक्राउ गरि कानुनी कारवाही गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले यो अवधीमा पाँच सय १३ जनालाई मुद्दा चलाएर करीब ४० लाख रकम बरामद गरिएको जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष २०८१/०८२ मा जुवाताससम्बन्धी ३३ मुद्दामा दुई सय ८४ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट १८ लाख ४२ हजार ६६६ रुपैयाँ नगद बरामद गरिएको डीएसपी तिमिल्सिनाले जानकारी दिएका छन् ।
यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा २६ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा जुवातास खेल्ने कार्यमा संलग्न दुई सय एक जनालाई पक्राउ गरिएको छ भने १९ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि अहिलेसम्म जुवातासमा संलग्न २८ जना पक्राउ परिसकेका छन् । उनीहरुको साथबाट एक लाख ६७ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार जिल्लामा दशैँ, तिहारका बेला जुवातास खेल्न क्रम बढ्दो हुने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा असोजमा र कार्तिकमा मात्र जुवातास खेल्ने २११ जनालाई पक्राउ गरि कारवाही गरिएको थियो । असोजमा एक सय ८ र कात्तिकमा एक सय ३ जना कारवाहीको दायरामा आएका थिए ।
प्रहरीले जुवाताससम्बन्धी गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको जनाएको छ भने जुवातास नखेल्न, नखेलाउन सबैमा अनुरोध समेत गरेको छ ।






























