कैलालीमा चार महिनादेखि काठ बिक्रीवितरण ठप्प

Image
maya metro

कैलाली – कैलालीमा चार महिनादेखि वन पैदावारको बिक्रीवितरण ठप्प छ । केही सामुदायिक वनमा योजनाभन्दा बढी रुख कटान गरी अनियमितता गरेको उजुरी परेपछि प्रदेश सरकारले गत असार ९ गतेदेखि काठ बिक्रीवितरणमा रोक लगाएको थियो ।

बिक्री रोकिँदा करिब पाँच लाख क्युफिट काठ घाटगद्दीमा थन्किएको छ । यसबाट व्यवसायी, उपभोक्ता र सरकारी राजस्व प्रभावित भएका छन् । लामो समयसम्म काठ थन्किँदा गुणस्तरमा समेत ह्रास आउने जोखिम बढेको छ ।

nisarga

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छानबिनका लागि बिक्रीवितरण रोक्न निर्देशन दिएको थियो । मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाइसकेको भए पनि कारोबार खुल्न सकेको छैन ।

प्रदेश वन निर्देशनालयका प्रमुख वन निर्देशक हेमराज विष्टका अनुसार बिक्रीवितरण रोकिएपछि करिब पाँच लाख क्युफिट काठ थन्किएको छ । डिभिजन वन कार्यालय धनगढीअन्तर्गत तीन लाखभन्दा बढी र पहलमानपुरअन्तर्गत डेढ लाखभन्दा बढी क्युफिट काठ घाटगद्दीमा रहेको सम्बन्धित कार्यालयले जनाएका छन् ।

वन पैदावार व्यवसायीले केही वनमा देखिएको समस्याका कारण जिल्लाभर बिक्रीवितरण रोक्नु अनुचित भएको भन्दै तत्काल निकास दिन माग गरेका छन् । कारोबार ठप्प हुँदा व्यवसायीलाई बैंकको ब्याज र किस्ता तिर्नसमेत समस्या भएको उनीहरूको भनाइ छ ।

सरोकारवालाले समस्या देखिएका वन क्षेत्रमा आवश्यक कारबाही गरी अन्य क्षेत्रमा काठ बिक्रीवितरण खुलाउनुपर्ने बताएका छन् । लामो समयसम्म प्रक्रिया रोकिँदा उपभोक्ता मारमा परेको र सरकारको राजस्वसमेत गुमिरहेको भन्दै छिटो निर्णय लिन उनीहरूले आग्रह गरेका छन् ।

रासस