
नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो ।

फैसलापछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ मार्चमा निर्धारण हुने तय भएको छ ।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका साथी र सहकर्मीसहितका साक्षी प्रस्तुत गरेको थियो । ममताकी साथी सुनिता बस्नेत थापाले उनी आत्महत्या गर्ने स्वभावकी नभएकाे र उनले त्यस्ताे कुरा कहिल्यै नगरेकाे बयान दिएकी थिइन् । उनले ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् ।
अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले पनि अभियोजनले आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।
ममता सन् २०२४ मा बेपत्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । त्यसपछि नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।






























