
डोटी – नेकपा एमाले डोटीको अध्यक्षमा पुनः चक्रबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । यस अघि पनि जिल्ला अध्यक्ष रहेका उनी आठौँ जिल्ला अधिवेशनबाट लामो रस्साकस्सी र सर्वसम्मतको अभ्यासपछि अध्यक्षमा चयन भएका हुन् ।
२०६९ सालमा सम्पन्न जिल्ला कमिटीको सातौ अधिवेशनबाट पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका उनी पुनः अध्यक्षमा चुनिएका हुन् । उनी एमालेका प्रभावशाली नेता भीम रावल निकट मानिन्छन्। त्यस्तै रावल निकट मञ्जु मालासी उपाध्यक्षमा चयन भएकी छिन् । उनी दिपायल सिलगढी नगरपालिकाको मेयर हुन् ।

जिल्ला कमिटी सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खड्का र तेजबहादुर डुम्रेल निर्विरोध निर्वाचित भएका छन्। मल्ल शिखर नगरपालिकामा पराजित मेयरका उमेदवार हुन् भने डुम्रेले सायल गाउँपालिकाका अध्यक्ष हुन् ।
योसँगै एमाले डोटीको पदाधिकारी र सदस्यसहित कुल ८९ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले स्रोतले जनाएको छ।
निर्वाचित अध्यक्ष मल्ल नेकपा विवादका बेला रावलसँगै माधव–प्रचण्ड पक्षसँग गएका थिए। त्यसबेला केपी ओली पक्षले जिल्ला समन्वय समितिका संयोजक रहेका रामबहादुर ऐरलाई अध्यक्ष बनाएको थियो। उनी मल्ल अध्यक्ष रहेको कमिटीका सचिव हुन्।
सर्वोच्च अदातलको उत्प्रेषणको आदेशपछि एमाले–माओवादी केन्द्र छुट्टिँदा मल्ल फेरि भीम रावलसँगै एमालेमा फर्किएका थिए। त्यसयता एमाले जिल्ला कमिटीको आधिकारिक अध्यक्षका विषयमा विवाद थियो।













