पोसाकमै रहेका विद्यार्थीलाई अत्तरियाका केही होटलले धुम्रपान र मदिराजन्य पर्दाथ बेच्ने गरेको गुनासो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियाका केही होटल तथा पसलले विद्यालय पोसाकमै रहेका विद्यार्थीलाई समेत धूम्रपान तथा मदिराजन्य पदार्थ बिक्री गर्ने गरेको गुनासो गरिएको छ ।

गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले विद्यालयको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको बताएका छन् ।

nisarga

विद्यालय पोसाकमै रहेका बालबालिकालाई समेत केही होटल तथा पसलले चुरोट, गाजा, मदिरालगायतका पदार्थ बिक्री गर्ने गरेको पाइएको उनले बताएका छन् ।

अभिभावकहरुको लिखित गुनासोका आधारमा आफूहरुले अनुगमन गर्दा यस्तो भेटिएको उनको भनाई छ । बालबालिकाको स्वास्थ्य र भविष्यसँग जोडिएको विषय भएकाले यस्तो कार्य तत्काल रोक्नुपर्ने उनको भनाइ छ ।

विद्यालयले यसअघि नै विद्यालय क्षेत्र आसपास मदिरा, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरिया उद्योग वाणिज्य संघ र गोदावरी होटल व्यवसायी संघलाई पत्राचार गरेको जनाएको छ।

तर उक्त पत्रबारे सम्बन्धित कसैले पनि चासो नदेखाएको प्रधानाध्यापक महताले गुनासो गरेका छन् । प्रधानाध्यापक महताका अनुसार विद्यालयले अनुगमनका क्रममा केही विद्यार्थी विद्यालय जाने भन्दै घरबाट निस्किएर बाटोमै विद्यालयको पोसाक परिवर्तन गरी अन्यत्र जाने गरेको समेत पाइएको छ ।

विद्यार्थीहरूले झोलामा विद्यालयको पोसाक बोकेर जाने, बाटोमा पोसाक परिवर्तन गर्ने र विद्यालय समयपछि पुनः विद्यालयको पोसाक लगाएर घर फर्किने गरेको पाइएको उनले बताए ।

त्यस्ता विद्यार्थीहरुले घरमा अभिभावकले गृहकार्यबारे सोध्दा स्कुलमा पढाई नै नहुने बताउने गरेको पाइएको महताले बताएका छन्।

विद्यालय क्षेत्र वरपर बालबालिकालाई यस्ता पदार्थ बिक्री–वितरण नगर्न व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै आफ्ना बालबालिकाका आनीबानीबारे सचेत रहन समेत उनले अभिभावकहरुलाई आग्रह गरेका छन् ।

कानुनले समेत विद्यालय क्षेत्र र बालबालिकालाई लक्षित गरी सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्रीमा रोक लगाएको छ। सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(१) ले १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न निषेध गरेको छ भने दफा ११(३) ले शिक्षण संस्थाबाट कम्तीमा १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न रोक लगाएको छ । त्यस्तै, होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ को दफा ७ ले १८ वर्षमुनिका बालबालिकालाई मदिरा बेच्न वा खुवाउन निषेध गरेको छ ।