
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-१ चैतन्यपुरमा असोज २५ गतेदेखि ३१ गतेसम्म शारदीय नवरात्रा दुर्गापूजा, रामकथा, रामलीला तथा श्रृङ्गारिक महाआरती आयोजना हुने भएको छ ।
चैतन्यपुरस्थित नवदुर्गा भगवती मन्दिर समितिको आयोजनामा हुने कार्यक्रम धर्म तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा धार्मिक, नैतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

कार्यक्रमका युवा संयोजक उत्तम महराले धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत युवालाई आफ्नो मौलिक पहिचान, परम्परा र संस्कृतिसँग जोड्नुका साथै सकारात्मक कार्यका लागि प्रेरित गर्ने उद्देश्य रहेको बताए । उनका अनुसार कार्यक्रमको उद्देश्य रकम संकलन मात्र नभई धर्म तथा संस्कृतिको जगेर्ना गर्नु पनि हो । मन्दिरका सल्लाहकार सदस्य यज्ञराज कापडीले सुदूरपश्चिममा बढ्दै गएको लागूऔषध दुव्र्यसन तथा सामाजिक विकृतिलाई निरुत्साहित गर्न कार्यक्रमले सहयोग पुग्ने बताए । भगवान् रामको आदर्श, अनुशासन, मर्यादा र नैतिक शिक्षाबाट युवालाई सही मार्गमा अघि बढ्न प्रेरणा मिल्ने उनको भनाई छ ।
गोदावरी नगरपालिका-१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले कार्यक्रम कुनै व्यक्ति वा समितिको मात्र नभई सम्पूर्ण समुदायको साझा धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएको बताए । उनले कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताएबा छन् ।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली भाषाका शृङ्गारिक प्रखर कथावाचक अच्युत शरण महाराज धितालद्वारा रामकथा वाचन गरिनेछ । राष्ट्रिय उद्घोषिका समीक्षा दास गिरीको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । उक्त धार्मिक कार्यक्रमलाई सफल पार्नका निमित्त आयोजकले सम्पुर्णमा उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।
कार्यक्रमअन्तर्गत बिहान ९ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठ, पूजाअर्चना तथा १०८ शालिग्राम परिक्रमा हुनेछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, भजनकीर्तन, दिव्य झाँकी, आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण गरिनेछ । यस्तै, साँझ ७ः३० बजेदेखि राति १०ः३० बजेसम्म देवी चर्चा, रामकथा प्रवचन, भजनकीर्तन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक दिनको आरतीकर्ता बन्न इच्छुकले रु. ३ हजार १०० तथा ब्राह्मण भोजनका लागि रु. १ हजार ५०० सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
नवदुर्गा भगवती मन्दिर समितिका अध्यक्षको मानबहादुर महराको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा स्थानिय, समाजसेवी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन युवा संयोजक उत्तम महराले गरेका थिए ।















