हिमपातका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

Image
maya metro

बैतडी – हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न रोकिएको थियो ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुसमेत अलपत्र परेका छन् ।

nisarga

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने, “दुई जेसिबीको प्रयोग गरी राजमार्ग सञ्चालन गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाइ भएको छ, आज अपरान्ह्पछि सञ्चालनमा आउन सक्छ ।” यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

साथै लामो यात्रा ननिस्कन पनि आग्रह गरिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानाकारी दिए । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

रासस