
चितवन – नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या अभियोगमा एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ।
भुजेल घटना लगत्तै फरार थिए। गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा पान गरेको र पछि भुजेलले नै गिरीको हत्या गरेको प्रहरीको दावी छ। गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नवलपुर प्रहरीको विशेषटोलीले उनलाई पक्राउ गर्न सफल भएको स्रोतले बताएको छ।
५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरी शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो।





























