
काठमाडौं – चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व स्थानिय निर्वाचनभन्दा केही दिनअघि परिवर्तन हुँदैछ ।
सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । त्यसको केहि दिनअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने बताइएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर २०७९ वैशाख १९ मा अवकाश लिदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।
यस्तै सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदैछन् । आईजीपीको चारवर्षे पदावधिका कारण खनाल अवकाशमा जान लागेका हुन् ।
खनालको अवकाशपछि उनकै ब्याचमेट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी महानिरीक्षक (आईजीपी) बन्नेछन् । केसी २२ दिनमात्र आईजीपी हुनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीले पनि नयाँ नेतृत्व पाउनेछ ।
दुवै संगठनका आईजीपीको अवकाशसँगै मन्त्रिपरिषद्ले नियुक्त गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वले स्थानिय तह निर्वाचनको चुनावी सुरक्षाको कमाण्ड गर्नेछन् ।






























