गोदावरी नगरपालीकाको भवन निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने तयारी,कांग्रेस गोदावरीको विरोध

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवनको निर्माण कार्य सम्पन्न नहुँदै उद्घाटन गर्ने तयारी भएपछी विरोध गरिएको छ । नगरपालिकाको वडा नम्बर २ स्थीत तेघरीमा निर्माणाधिन प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न नगरी उद्घाटन गरिन लागिएको भन्दै नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले विरोध गरेको हो ।

कांग्रेस नगर कार्यसमितिले आइतबार गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदलाई ध्यानाकर्षण पत्र बुझाउँदै भवन निर्माण सम्पन्न नगरी उद्घाटन गर्ने कार्यक्रम रोक्न आग्रह गरेको छ ।

nisarga

ध्यानाकर्षण पत्रमा भवन निर्माण प्रक्रियामा रहेको भएपनि उक्त भवनको चैत्र १४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको सुन्नमा आएकाले यस बिषमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘स्थानीय निकाय निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनलाई नै प्रभावित पार्ने गरी र आम जनतालाई भ्रममा पार्न निर्माण सम्पन्न नभई निर्माण व्यवसायीले हस्तान्तरण नै नगरेको अवस्थामा उक्त भवनको उद्घाटन गरिनु निर्वाचन आचार सहिता विपरित रहेको छ’ कांग्रेस गोदावरी नगरपालिकाका प्रवक्ता अशोकराज देवकोटाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा अगाडी भनिएको छ ‘स्थानीय निकायको निर्वाचनलाई प्रभावमा पार्न र आम जनतालाई भ्रममा पार्न गरिएको उक्त कार्य रोकी निर्माण सम्पन्न भई सकेपछि मात्र उक्त भवनको उद्घाटन कार्य गर्न गराउन यसै ध्यानाकर्षण पत्र मार्फत नगर प्रमुख ज्य लगायत सम्पूर्ण नगर कार्यपालिकाको ध्यानाकर्षण गराउँदछौ ।’

एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भइरहेको नगरपालिकाको भवन निर्माणका लागि एम/एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता भएको थियो ।

उक्त कम्पनी संग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुरुमा गरिएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सम्पन्न गरिसक्नु पर्ने भएपनि पछि कोरोना महामारीको कारण देखाउँदै ६/६ महिना गरी २ पटक म्याद थप गरिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि रोसन भट्टले हाल भवन फिनिसिङको काम भइरहेको भएपनि काम सम्पन्न हुन अझै २ महिना लाग्ने बताए । उता गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले नगरपालिका भवनको सोमबार बिहान उद्घाटन गरिने बताए ।

नगरपालिकाको भवन निर्माणका लागि गोदावरी नगरपालिका – २ तेघरीमा झण्डै १५ कठ्ठा जमीन यसअघि नै खरिद गरिएको थियो । हाल गोदावरी नगरपालिकाको आफ्नै भवन नहुदाँ अत्तरियाको धनगढी रोडमा रहेको एक निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ ।