
डोटी – बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार मध्यरातसम्म मनोनयन दर्ता भएको थियो। ६५ वटा वडामा जम्मा दुई सय ३२ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा एउटा वडामा मात्रै एक जना महिलाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन्।
जिल्लाको शिखर नगरपालिका-५ मा नेपाली कांग्रेसको तर्फबाट रमा कुमारी रावल (साउद) ले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनी यसअघि नगरकार्य पालिकाको सदस्य समेत रहेको थिइन। त्यसैगरी दिपायल सिलगढी नगरपालिकाको नगरप्रमुखमासमेत एक जना महिलाले उम्मेदवारी दर्ता गराएकी छन्। जनता समाजवादी पार्टीकोतर्फबाट कला देवी श्रेष्ठले प्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।

आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय भएपनि डोटीमा आइतबार जोरायल गाउँपालिकामा नेकपा एमालेले मात्रै उम्मेदवारी दर्ता गराएको थियो। बाँकी सबै दलहरुले सोमबार (हिजो) मात्रै सबै पालिकामा मनोनयन दर्ता गारएका थिए। सबै पालिकामा मनोनयन दर्ता गर्ने कार्यक्रम मध्यरात सकिएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए।
३४३ पदको लागि १०६९ जनाको उम्मेदवारी
डोटीमा तीन सय ४३ पदको लागि एक हजार ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। दिपायल सिलगढी नगरपालिकाको प्रमुखको लागि ७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी नौ वटा वडा अध्यक्षको लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए।
डोटीको अर्को नगरपालिका शिखर नगरपालिकाको प्रमुखमा ५ जना र उपप्रमुखमा ३ जनाको उम्मेदवारी परेको छ। शिखर नगरपालिकामा ५७ पदमा एक सय ४८ जनाको उम्मेदवारी परेको छ। पूर्बीचौकी गाउँपालिकामा ३७ पदको लागि एक सय १६ जनाको उम्मेदवारी परेको छ। सायल गाउँपालिकामा ३२ पदको लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आदर्श गाउँपालिकामा ३७ पदको लागि एक सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी केआईसिंह गाउँपालिकामा ३७ पदको लागि एक सय १८ जनाले उम्मेदवारी हालेका छन्। बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदको लागि एक सय १५ जनाको उम्मेदवारी परेको छ। बडीकेदार गाउँपालिकामा २७ पदको लागि ८२ जनाले उम्मेदवारी हालेका छन् भने जोरायल गाउँपालिकामा ३२ पदको लागि एक सय १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन्।
डोटीमा जम्मा सात वटा पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गरेका हुन्।











