
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि यही असार २८ गते चुनाव हुँदै छ । गत जेठ २३ गते आयोजित व्यवसायिक भेलाले निर्वाचन मार्फत नेतृत्व चयन गर्ने निर्णय गरेको थियो ।
जस बमोजिम सङ्घको दर्ता नवीकरण प्रक्रिया जेठ २५ गतेदेखि सुरु गरी असार १५ गतेभित्र सम्पन्न गर्ने निर्णय भएको थियो ।

साथै उक्त भेलाले २०८३ साल असार २७ गते सङ्घको वार्षिक साधारण सभा र असार २८ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो । अधिवक्ता देवराज भट्टको संयोजकत्वमा निर्वाचन समिति पनि चयन गरिएको थियो ।
संघको २०८० सालमा आयोजित प्रादेशिक महोत्सवका क्रममा नक्कली ठेली बरामद भएपछि विवाद सिर्जना भएको थियो ।
सो समयदेखि अत्तरिया उद्योग वाणिज्य सङ्घ नेतृत्वविहीन अवस्थाबाट गुज्रिएको थियो । उक्त घटनाको कानुनी प्रक्रिया गत वैशाखमा सुल्झिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल पनि तात्न थालेको छ ।
अध्यक्ष पदका लागि सङ्घका संस्थापक उपाध्यक्ष नैनसिंह कार्की, पूर्व उपाध्यक्ष कमल कडायत र पूर्व सदस्य रमेश भट्टराईले प्यानलसहित चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । सार्वजनिकरुपमा प्यानल घोषणा नगरेपनि उनीहरु तीनै जनाले आन्तरिकरुपमा व्यापारीहरु संगको भेटघाट तिव्र बनाएका छन् ।
तीनै उम्मेदवारले व्यवसायीका समस्या समाधान, संस्थागत सुधार र उद्योग–व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । कार्कीले लामो समयदेखि संस्थामा देखिएको समस्या समाधान गर्न र व्यवसायीहरुको हकहितका लागि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
त्यस्तै कडायतले पनि लामो समयदेखि संस्था बन्दी भएको हुँदा संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै व्यवसायीहरुका साझा समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
उनले सबै व्यवसायीहरुलाई मिलाएर लैजाने बताएका छन् । अध्यक्षका अर्का उम्मेदवार भट्टराईले व्यवासायीको भावना अनुसार अगाडि बढ्ने भन्दै प्यानलसहित आफूले अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।
विवादका कारण सङ्घ नेतृत्वविहिन बनेपछि सङ्घको नियमित गतिविधिमा समेत असर परेको व्यवसायीहरूको भनाइ छ । होटल व्यवसायी महासंघकी उपाध्यक्ष समेत रहेकी होटल व्यवसायी धना देवी चोखालले स्वच्छ भावनाले व्यवसायीहरुको हकहितका लागि आवज उठाउने व्यक्ति नेतृत्वमा आउनुपर्ने बताइन् ।
व्यवसायीहरु आफैले निर्माण गरेको संस्था सिमित व्यक्तिको घेराबन्दीबाट बाहिर निस्कनुपर्ने उनले बताइन्। अब निर्वाचन सम्पन्न भएसँगै सङ्घले नयाँ नेतृत्व पाउने र संस्थागत गतिविधिले पुनः गति लिने अपेक्षा गरिएको छ ।
संस्थामा हाल करिब १ हजार मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनमा १ हजार ५६५ मतदाता रहेकोमा यसपटक भने घटेका हुन् ।














