डोटीको आदर्शमा ४ वडा सहित कांग्रेस विजयी

Image
maya metro

दिपायल – डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार गणेश बहादुर खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ७३ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार डम्बर ओलीले ३ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् ।

nisarga

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लक्ष्मी धामी (रोकाया) ३ हजार ६ सय ७४ मत सहित विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्दी एमाले उमेदवार जानकी खड्काले ३ हजार ३ सय ८९ मत गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उमेदवार रमेश विष्टले ३ सय ३३ मत मात्रै प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार कविता साउदले एक सय ७२ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडाहरु रहेको आदर्श गाउँपालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १ मा कांग्रेसका उमेदवार भरत बहादुर खड्का विजयी भएका छन् । वडा नम्बर २ मा एमाले उमेदवार रमेश साउद र वडा नम्बर ३ मा एमालेकै वीरेन्द्र प्रसाद पाठक विजयी भएका छन् ।

त्यस्तै वडा नम्बर ४ मा कांग्रेस उमेदवार राजेन्द्र ओझा, वडा नं. ५ मा कांग्रेसकै उत्तम बहादुर सिंह विजयी हुनुभएको छ । वडा नं. ६ मा एमाले उमेदवार लाल बहादुर खडायत र वडा नम्बर ७ मा कांग्रेस उमेदवार लाल बहादुर विष्ट विजयी भएका निर्वाचन अधिकृत दुर्गादत्त विष्टले जानकारी दिएका छन् ।

२०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडा सहित नेकपा एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो । आदर्श गाउँपालिका नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल र नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र सिंहको गृह पालिका हो ।