
काठमाडौँ – भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ।
भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको जानकारी आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

रुस र युक्रेनबाट विभिन्न मुलुकमा ठुलो मात्रामा गहुँ निर्यात हुन्छ। तर अहिले ती दुई देशबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा गहुँ अभाव देखिन थालेको छ। विभिन्न देशले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वभर गहुँ अभाव भएको बताइएको छ। ती देशबाट गहुँ आयात नभएपछि सम्भावित खाद्य अभाव हुन नदिन भारले निर्यातमा रोक लगाएको हो। रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा असर परेको व्यापारी बताउँछन्। भारतले केही दिनअघि स्पन्ज आइरन निर्यातमा कर वृद्धि गरेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारले २०२२ जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। गहुँ निर्यातमा यसअघि नै रोक लगाउने निर्णय भारत सरकारले गरेको थियो।
पोहोर करिब १२ अर्ब रुपैयाँको गहुँ आयात भएको थियो। बजार मागअनुसार चिनी उत्पादन नहुने भएकाले त्यसको असर पनि बजारमा पर्ने देखिएको छ। ‘चिनी पर्याप्त उत्पादन हुँदैन,’ सञ्जेलले भने, ‘अन्य मुलुकबाट आयात गर्दा मूल्यवृद्धि हुन सक्छ।’
नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा करिब सवा ३ लाख मेट्रिक टन चिनी उत्पादन हुन्छ। स्वदेशी उत्पादनले अपुग भएपछि गत वैशाखसम्म ९४ हजार ८४ मेट्रिक टन चिनी आयात भएको छ। भन्सार विभागका अनुसार ४ अर्ब ८३ करोड रुपैयाँको चिनी आयात भएको छ। गहुँ वस्तुभाउले खाने दानाका रूपमा पनि प्रयोग हुन्छ। आयातलाई निरन्तरता दिन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सरोकारवाला बताउँछन्।
नागरिक दैनीकबाट














