
कञ्चनपुर – कञ्चनपुरको वेदकोट नपा–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वर धाम (लिंगा) क्षेत्रमा बगुन खोलामा आएको बाढीले क्षति गरेको छ। खोलाको धार परिवर्तन हुँदा धाम क्षेत्रका भौतिक संरचनामा क्षति गरेको हो। नगरपालिकाका पूर्व नगरप्रमुख अशोक चन्दका अनुसार खोलाले निर्माणाधीन झोलुङ्गे पुलको पिलर भत्काउनुका साथै अन्य संरचनामा समेत क्षति गरेको छ।
लगातारको वर्षाका कारण बुधवार र बिहीवार खोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको उनले बताए। खोला धाम क्षेत्र भएर बग्न थालेकाले व्यापक रूपमा भूक्षय भएको छ’, उनले भने, ‘बगुन सिँचाइ कुलोको तारजाली समेत बगाएको छ। तत्काल खोला नियन्त्रणका प्रयास नगरे धाम क्षेत्रमा निकै ठूलो क्षति निम्तिन सक्नेछ।’

प्राकृतिक प्रकोप नियन्त्रण र रोकथाम गर्न सरकारी निकायले गरेर मात्रै नहुने भएकाले निर्माण व्यवसायीहरूलाई उनले स्वैच्छिक सहयोग गर्न आग्रह समेत गरेका छन्। वर्षा निरन्तर भइरहकाले बाढीले लिंगा क्षेत्रमा थप क्षति निम्त्याउने खतरा बढेको छ। क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा रहेको छ। टाढाबाट लस्करै मन्दिरहरूको शहर जस्तो देखिने माटोका आकृतिलाई नियाल्न पर्यटक यो क्षेत्रमा पुग्ने गर्छन्। यो क्षेत्रलाई स्थानीय बासिन्दाले धार्मिक क्षेत्रका रूपमा लिने गरेका छन्।














