
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेमा रहेको सुर्योदय सामुदायिक वनको काठ वितरणमा मनोमानी गरेको उपभोत्ताले आरोप लगाएका छन् । वनले शनीबार काठ वितरणकोलागी समय तोकेको थियो ।
वनले काठ मागको लागी निवेदन माग गर्दा १८४ जनाले निवेदन दिएकोमा करिब सय जनाले काठ पाएको समितिले जनाएको छ । निवेदन दिएका मध्य अधिकांशले काठ पाएका छैनन् । उनीहरुले वनको समितिले आफुखुसी आफ्ना आफन्त तथा नातागोतालाई मनोमानी ढंगले काठ वितरण गरेको आरोप लगाएका छन् ।

स्याउलेका स्थानीय कर्मराज चौधरीले समितिले आफ्ना नजीकका व्यत्तिलाई बिहान ५÷६ बजेको समयमा बोलाएर अनीमीयत ढंगले काठ वितरण गरेको बताए । उनले समितिले आफ्नो मर्जी अनुसार कडी,तथा फ्रेम वितरण गरेको बताएका छन् । काठ वितरणको निश्चीत समय राख्नुपर्नेमा त्यसो नगरी आ आफ्ना मान्छेलाई अगाडी बोलाएर काठ दिएर पठाएको उपभोत्ताको गुनासो छ ।
वनकी अध्यक्ष जगतरा देवि सिहंले भने नियमानुसार काठ वितरण गरीएको दावी गरेकी छन् । उनले काठ नै कम भएकोले निवेदन दिएका सबैलाई पुर्याउन नसकिएको बताईन् । सालको काठ आफुहरुसंग जम्मा १६३ क्युफिट मात्रै भएको तर माग सबैले सालको काठको मात्रै गरेकोले पुर्याउन समस्या भएको उनले बताईन् । उनले हल्दु,सिसम तथा साजको काठ भने अझै प्रसस्त रहेको बताएकी छन् ।
अब छिटै सुकेका खडा रुख काट्ने योजना भएको हुँदा अहिले नपाएकालाई त्यतिबेला प्राथमिकता दिईने उनले बताएकी छन् । निवेदन दिएका सबैजना संगै उपस्थीत हुँदा वितरण तथा व्यवस्थापनमा समेत समस्या भएको अध्यक्ष सिहंले बताईन् । एकजनालाई ८ ओटासम्म कडी र ४ ओटा सम्म फ्रेम दिने भनीएको भएपनी एकैजनाले त्यो भन्दा बढी लगेको बताईएको छ । राती ८ बजेको समयसम्म पनी समितिले काठ ओसारपसार गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
















